२०८२ फाल्गुन २४ गते, आईतवार २२:०१

वनका खानेकुरा : भोक, स्वाद, पोषण र नोस्टाल्जिया

आलेखको सुरुआत दुई प्रसङ्गबाट गरौं ।

प्रसङ्ग एकः बर्दिया राष्ट्रिय निकुञ्जसँगैको गाउँमा उमेरले ६० नाघेका एक जना थारूसँग मैले सोधेको थिएँ– तपाईंसँग खान पुग्ने जग्गा–जमिन छ । निकुञ्जभित्र बाघ, हात्ती र गैंडाको डर छ, सुरक्षाकर्मीले भेटे कारबाही गर्छन् तर पनि तपाईं निगुरो, घोंगी टिप्न जंगल किन जानुहुन्छ ?

उनको उत्तर थियो– यो त मेरो परम्परा हो नि ! सानैदेखि जंगलका खानेकुरा खाने बानी परेको, अहिले पनि जंगलबाटै ल्याएर खान मन लाग्छ ।

प्रसङ्ग दुईः मैले २०६० देखि ६५ सालसम्म धादिङको धुसा र जोगीमारा गाउँका चेपाङ समुदायले प्रयोग गर्ने कन्दमूलको अध्ययन गर्दा जंगली तरुलका सात वटा प्रजाति पाएको थिएँ । तरुलका सात प्रजाति हाम्रो सन्दर्भमा निकै ठूलो कुरा हो । हामीले घरगाउँमा रोप्ने तथा हुर्काउने विभिन्न नामका सबै तरुल मात्र एउटा प्रजाति हो ।

यी दुई प्रसङ्ग फरक समुदायका भए तापनि तिनमा समेटिएको साझा कुरा हो, वनका खानेकुराको महत्व ।

आज मार्च २१, अन्तर्राष्ट्रिय वन दिवस । यस वर्ष सयुक्त राष्ट्रसंघले वनका खानेकुरा (फरेस्ट्स एन्ड फूड) भन्ने विषयमा वन दिवस मनाउने निर्णय गरेको छ । यो सन्दर्भमा हामीले वनका खानेकुराको महत्व फर्केर हेर्ने र त्यस्ता खानेकुराको संरक्षण किन महत्वपूर्ण छन् भनेर चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

अहिलेको मानव जातिको उत्पत्ति हुनुपूर्व मानव पुर्खाकै पालादेखि जंगलका खानेकुरा नै जीवनको मुख्य आधार थिए । अफ्रिकाबाट बाहिर निस्केको मानव प्रजातिले लामो समय फिरन्ते भएर बाँच्यो । लगभग १२ हजार वर्ष पहिले मानिसले मध्यपूर्वको एकठाउँमा बसेर खेती गर्न थाल्यो । आज मानिसले खेती गर्ने प्रजातिहरूको मूल खोज्दै जाने हो भने जंगलका प्रजातिमै गएर टुंगिन्छ । जात छनोट र सुधारको लामो प्रक्रिया मार्फत आजका बालीहरू विकसित भएका हुन् ।

मानिसले वन्यजन्तुको शिकार गर्ने र जंगली फलफूल खाएर आफ्नो लामो फिरन्ते जीवन बितायो । आधुनिक कृषिको सुरुआत पश्चात् पनि जंगली खानेकुरासँग मानिसको सम्बन्ध टुटेन बरु यस्ता जंगली खानेकुरा पोषण, खाद्य संस्कृति र जीवन धान्ने महत्वपूर्ण आधार बनिरहे । अहिले पनि एशिया, अफ्रिका र दक्षिण अमेरिकमा सयौं आदिवासी समुदाय आफ्नो खाद्यान्नको लागि जंगली फलफूल र कन्दमूलमा निर्भर छन् ।

वनका संकलन गरिने खानेकुराको विविधता (माथिबाट क्रमश): निगुरो, बरुलो, च्याउ, भार्लांग, पाँचफल र हर्रो, बर्रो, अमला ।

जंगलको खानेकुरा भोक मेट्ने स्रोत मात्र होइनन्, आम मानिसको सांस्कृतिक आवश्यकता समेत हुन् । ग्रामीण विपन्न र चेपाङ जस्ता समुदायमा आफ्नो उत्पादनले चार महिनादेखि ६ महिना भन्दा थेग्दैन । उनीहरूको लागि जंगलबाट संकलन गरेका खानेकुरा थप महत्वपूर्ण हुने नै भए । साथै अन्य समुदायको पनि खेतीपाती बिग्रिँदा वा प्राकृतिक विपत्तिको बेला जंगलमा आम मानिसहरूको निर्भरता बढ्ने नै भयो । यद्यपि, पछिल्लो समय यो अब भोक मात्र बनेको छैन । शहर–बजारमा बस्ने मानिसहरूका लागि सोखको विषय समेत बन्दै आएको छ ।

कतिपय जंगली खानेकुरामा पाउने स्वाद तिनका घरेलु जातमा भेटिंदैन । नेपालमा तरुलका दुई दर्जनभन्दा बढी जात खेती गरिन्छन् तर वनतरुल जस्तो उच्चकोटिको स्वाद कुनै जातमा भेटिंदैन । वर्षायाममा जंगलमा पाइने देउले वा ढिम्की च्याउको स्वाद बेजोड हुन्छ । यस्ता च्याउका स्वादका पारखीहरू निकै मिहिनेत गरेर वा महँगो तिरेर पनि खान्छन् ।

जंगली फलफूल र कन्दमूल औषधिमुलो वा गुनिलो हुने भनेर पनि संकलन गरिन्छ । तराई र पहाडको जंगलमा हिउँदमा फुल्ने चुवा वा बर्खामा फुल्ने टटेलो फूलले उच्च रक्तचापमा राम्रो गर्ने हुँदा तरकारी/अचार बनाएर खाइन्छ ।

खोलाको माछा मार्ने, जंगलको बारुलो र भीर मौरीको मह संकलन गर्ने, खोल्सा र खोलामा पाहा संकलन गर्ने कुरामा जति दुःख र जोखिम छ; छ, त्यतिकै रोमाञ्चकता र सामूहिकताको संस्कार पनि । यस्ता जंगली खानेकुरा संकलन गर्ने कुरा कतै कतै त उत्सव जस्तै हुने पनि गर्दछ ।

सन् २०२२ मा प्रकाशित जैविक विविधता तथा पर्यावरणीय सेवा सम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदन अनुसार संसारमा ३१ हजार प्रजातिका वनस्पति र १५०० प्रजातिका च्याउ मानिसले जंगलबाट संकलन गरेर खान्छन् । सोही प्रतिवेदन अनुसार संसारमा हरेक पाँच जनामा एक जनाले जंगलको खानेकुरा संकलन गर्दछन् ।

सम्पन्न छन् हाम्रा वनजंगल

हामीलाई वन जंगलको स्रोत भन्ने बित्तिकै रूख र काठ सम्झना आउँछ । हाम्रो वन व्यवस्थापनको बहसको केन्द्रमा काठ छ । वनमा काठ मात्र अर्थोपार्जनको स्रोत हो भन्ने हिसाबले व्यवस्थापनका योजना बनेका छन् । यस्ता व्यवस्थापनका योजना तथा व्यवस्थापनमा वन भनेको काठको नवीकरणीय स्रोत हो र समृद्धिको लागि यसको अधिकतम दोहन गर्नुपर्छ  भन्नेहरूको बोलवाला छ । तर वन व्यवस्थापन बारेको यस्तो धारणा निकै सतही मात्र हैन वनको बहुआयामिक महत्वको पूरापूर अवमूल्यन समेत हो ।

वन भनेको एउटा जीवन्त प्रणाली हो जसको विविधता अपरम्पार छ । एउटै रूखको जरादेखि टुप्पोसम्म सबैतिर विविधता छ । यिनै विविधता नै वन–जंगलका सम्पन्नताका आधार हुन् । विविध प्रजातिको उपस्थितिले हाम्रो वनलाई जीवन्त बनाएका मात्र छैनन् धेरै बृहत् वातावरणीय सेवाहरू उपलब्ध गराउन सकेका पनि छन् । अमूल्य सांस्कृतिक अभ्यासलाई समेत सम्भव पारेका छन् ।

सन् २०२२ मा प्राध्यापक कृष्णकुमार श्रेष्ठको नेतृत्वमा लिखित नेपालको वनस्पतिको बृहत् सूचीमा नेपालमा जंगलका ७७० भन्दा बढी सपुष्पक वनस्पतिका प्रजाति कुनै न कुनै रूपमा खाइने उल्लेख गरिएको छ । सोही पुस्तकमा नेपालमा ३३५ प्रजातिका फलहरू खाइने विवरण समेत समाविष्ट गरिएको छ ।

खेती गर्ने प्रजाति सीमित छन् तर जंगलबाट संकलन गरेर खाने प्रजातिको विविधता व्यापक छ । मानिसले  फलफूल, कन्दमूल, मह, शीत मह, माछा, गँगटा, सागपात, च्याउ, तामा र टुसा, चोप, धूप जस्ता विविध खानेकुरा वनजंगलबाट संकलन गरेर खान्छन् ।

च्याउविज्ञ डा. शिव देवकोटाका अनुसार नेपालमा २२० भन्दा बढी प्रजातिका च्याउहरू जंगलबाट संकलन गरेर खाने गरिन्छ ।

देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न ११ प्रजातिका न्यूरोहरू संकलन गरेर खाने गरेको जानकारी उन्युँ विज्ञ धनराज कँडेलको अभिलेखबाट बुझ्न सकिन्छ । जलुको, मोरंगे, सिप्लिगान, कोइरालाको फूल र पात पनि ग्रामीण क्षेत्रमा धेरैका भान्सामा उपयोग गरेको देख्न सकिन्छ । नेपालको पूर्वदेखि पश्चिमसम्म अनि दक्षिणी समथर भूभागदेखि उच्च पहाडी क्षेत्रसम्म च्याउ स्थानीयको लागि महत्वपूर्ण खानेकुरा हो । बर्खा लागेसँगै च्याउ, निगुरो, जिब्री साग, मजुर खुट्टी, तामा वा निगालोका टुसाको स्वाद लिन सबै लालायित हुन्छन् ।

नेपालका पैयुँ जातका विविध प्रजातिमा अध्ययन गरेका युवा वैज्ञानिक दीपक खड्काका अनुसार नेपालमा पाइने २० प्रजातिका जंगली पैयुँहरूमध्ये १२ वटा प्रजातिमा खान मिल्ने फल हुन्छन् । त्यसै गरेर नेपालमा पाइने सात (सम्भवतः अझ बढी) जातका कटुसका फल खाने गरिन्छ, कटुस जस्तै फल्ने अर्खौलो र बान्टे जस्ता प्रजातिका फल पनि खाइन्छ ।

महलो वा मलायोको चुक तथा पूर्वी पहाडमा घारेघुरे तथा पश्चिम पहाडमा ढँटेलोको खानेतेल बनाएर प्रयोग गर्ने गरेका उदाहरण पनि देख्न सकिन्छ । दीपक खड्का नेतृत्वमा जुम्लाको सिंजामा गरिएको एक अध्ययन अनुसार त त्यो क्षेत्रमा मात्र १३ वटा जंगली प्रजातिका वनस्पति खानेतेल बनाउन प्रयोग गरिने रहेछ । चिप्लेको बोक्रा, काउलोको बोक्रा अनि ओदालको चोप सेलरोटी बनाउँदा पिठो लेसाइलो बनाउन प्रयोग गरिन्छ । त्यसैगरी लौठ सल्लाको पात, खयरको बोक्रा, घोडामार्चाको पात, हिउँवाको पात, पारिजातको फूल जस्ता विभिन्न वनस्पतिलाई चियाको रूपमा समेत पिउने गरिन्छ ।

नेपालको भौगोलिक र जलवायुको विविधताले सृजित वातावरणले नेपाल दक्षिण–उत्तर र पूर्व–पश्चिम संक्रमणसँगै वन र तिनका प्रजाति पनि फरक हुन्छन् । यही फरकपन अनि हाम्रो सांस्कृतिक विविधता सँगसँगै वनका खानेकुराहरूको महत्व पनि धेरै रहेको छ ।

अभाव र संकटमा सहारा

वनका खानेकुरा हुनेखाने र हुँदा खाने सबै वर्गका मानिसले प्रयोग गर्छन्, स्वाद, पोषण र भोकमा । वन वरिपरि बस्ने स्थानीय, जनजाति, आदिवासी तथा विपन्नका लागि त वनजंगलका खानेकुरा अभावको सहारा समेत हुन् । प्राकृतिक विपत्ति हुन् वा खेतीबाली बिग्रँदा मानिसहरू वन चहारेर चुलो बाल्छन् ।

नेपालमा पाइने वनका फलहरू (माथिबाट क्रमश): च्यासी, डालेचुक, ओखर, जालपाई, मलिदो, महलो, जुरे मयल, वन सुन्तला र वन काफल ।

नेपालको चेपाङ समुदाय वनका पैदावार विशेषगरी खाद्य कन्दमूलमा निर्भरताका लागि प्रख्यात छन् । कठिन भूगोल र भिरालो जमिनमा परम्परागत बसोबास भएका चेपाङ समुदायसँग कृषियोग्य जमिन कम छ । त्यसैले उनीहरूलाई खेतबारीको उत्पादनले वर्षभरि खान पुग्दैन । यस्तोमा उनीहरू वनका कन्दमूल र आफ्नो परम्परागत सीपको आधारमा खाद्यान्नको जोहो गर्दछन् । वनका गिंठा, भ्याकुर, वनतरुल, भ्याक्से, त्यागुना, चुइंया र गुर्बो जस्ता कन्दमूलले भान्सा चलाउँछन् ।

परम्परागत ज्ञान

जंगली फलफूल र कन्दमूलको कुरा गर्दा छुट्याउनै नहुने कुरा हो, जैविक विविधता सम्बद्ध परम्परागत ज्ञान र प्रविधि । स्थानीय समुदायमा वन जंगलका खानेकुरा पहिचान गर्ने, तिनको उपभोगको विधि र मात्रा तय गर्ने अनि त्यस्ता स्रोतहरूको पर्यावरणीय पक्ष बारेमा महत्वपूर्ण ज्ञान हुन्छ । स्थानीय समुदायले जंगलका विषालु र खान हुने च्याउ सजिलै चिन्न सक्छन् । त्यसैगरी सोझै खाँदा असर पार्ने खानेकुरा प्रशोधन गर्ने ज्ञान पनि उनीहरूमा हुन्छ । उदाहरणको लागि भार्लाङ खरानीमा उमालेर २४ घन्टा बगेको पानीमा राखेपछि मात्र खान योग्य बन्छ । त्यसैगरी गुर्बो होस् वा पाङ्ग्रा यस्ता विषालु खानेकुरालाई प्रशोधन गर्ने ज्ञान समुदायमा हुन्छ ।

चेपाङ समुदायमा कन्दमूल बारेको ज्ञान कति गहिरो छ भन्ने बारेमा बुझ्न गिंठा र भ्याकुरको उदाहरण काफी छ । वैज्ञानिक वर्गीकरण अनुसार डायोस्कोरिया बुल्बिफेरा भनिने एउटा प्रजातिलाई चेपाङहरूले चार फरक–फरक जातमा बाँडेका छन् । उनीहरूले गिंठालाई लाक भन्छन् र जंगलका गिंठालाई स्थानीय भाषामा रे लाक, ह्याक लाक, यूक लाक र किम लाक नाम दिएका छन् । यी जात कस्तो ठाउँमा पाइन्छन् र यिनीहरू कसरी एकअर्कासँग फरक छन् भन्ने राम्रो ज्ञान स्थानीयसँग हुन्छ ।

त्यसैगरी नेपाली भाषामा भ्याकुर भनिने प्रजातिको वैज्ञानिक नाम पेन्टाफाइला हो जसलाई चेपाङ भाषामा पास भनिन्छ । यो एउटा प्रजातिमा पनि चेपाङहरूले चार वटा फरक–फरक जात वर्गीकरण गरेका छन् । चेपाङको वर्गीकरण अनुसार भ्याकुरका चार जात– सुती पास, जा पास, वाइला पास र क्लोक पास हुन् ।

चेपाङ समुदायले खान संकलन गर्ने कन्दमूल (माथिबाट क्रमश): तितो गिंठा, मिठो गिंठा, रानी भ्याकुर, भार्लांग, चुइंया र वनतरुल ।

प्रवर्द्धनको अवसर

जंगलका कतिपय खानेकुरा व्यापारिक प्रवर्द्धनका लागि योग्य छन् । हाल वनबाट संकलन गरिएका विभिन्न प्रकारका खानेकुराहरू स्थानीय बजार र सडक किनारमा बेच्न राखिएको देख्न सकिन्छ । निगुरो, तामाका टुसा र च्याउ यसरी बेच्ने गरेको देखिन्छ । काफल, अमला, च्यासी र फँडिर जस्ता फलफूलहरू जंगलबाट संकलन गरेर बेच्ने गरिन्छ । बजारमा देखिने तरुलमध्ये वनतरुलको मूल्य घरतरुलको भन्दा बढी हुन्छ ।

लप्सी तथा अमलाका क्यान्डी बनाउने, भक्किम्लो, बयर र सिस्नोको धुलो बनाएर बेच्ने, बेलको सर्वत बनाउने गरेको देख्न सकिन्छ । त्यसैगरी मुलुकको विभिन्न भागमा स्थानीय समुदायले जंगली फलफूललाई घरेलु रक्सी बनाउन र अन्नको रक्सीमा स्वाद भर्ने गरेका उदाहरण छन् । जनजातिले चुत्रो, भोगटे (बिलाउनेको जात), जमाने मान्द्रो, धयेंरोको फूल, महुवाको फल र फूल आदिबाट मदिरा बनाउने गर्दछन् ।

जंगली कन्दमूल र फलफूलको खेती प्रविधि विकास गर्न सकिन्छ । हाल तेजपात, टिमुर, मालागिरी, चिराइतो जस्ता औषधि र मसलाजन्य वनस्पतिको केही हदसम्म कृषि विस्तार भए पनि फलफूल र कन्दमूलको क्षेत्रमा भने काम भएको छैन । बजारमा बिक्री हुने धेरै जडीबुटी प्राकृतिक वासस्थानबाट नै संकलन गरिन्छ ।

खेती प्रवर्द्धनको लागि हामीले रानी कुसुमलाई लिन सकिन्छ, । यो प्रजाति कुसुम वा अटेर भनिने अर्को प्रजातिभन्दा निकै फरक हुन्छ । पूर्वी र मध्य तराई एवं चुरेका खोल्साखोल्सीमा पाइने यो रूखको फल व्यावसायिक प्रवर्द्धन गर्न सकिन्छ । ताजा फल त्यसैै खान सकिन्छ भने यसलाई अचार वा जाम बनाउन समेत प्रयोग गर्न सकिन्छ । पहाडी क्षेत्रमा पाइने च्यासी जो विदेशतिर प्रख्यात ब्ल्युबेरीको नजिकको प्रजाति हो त्यसको पनि खेती र बजारीकरण गर्न सकिन्छ ।

पहाडी क्षेत्रमा पाइने जंगली आरू भनिने एउटा फल पनि व्यावसायिक प्रवर्द्धन गर्न सकिने खालको छ । भारतको असम र नागाल्याण्डमा यसको खेती गरेर बेच्ने गरेको उदाहरण भेट्न सकिन्छ । चाइनामा यसको फलबाट जाम, वाइन र चकलेट समेत बनाउने कुरा दीपक खड्काले आफ्नो लेखमा उल्लेख गरेका छन् ।

नेपालको तराई र पहाडका कतिपय ठाउँमा बर्खाको बेलामा च्याउ टिप्ने काम उत्सव जस्तै हुने गर्छ । बर्खाको बेलामा च्याउका पारखीलाई च्याउ संकलनमा सहभागी गराउने, तिनको बारेको ज्ञान आदानप्रदान गर्ने र च्याउको स्वाद दिलाउने गरी पर्यटनको विकास गर्न सकिने सम्भावना देखिन्छ । च्याउविज्ञ डा. शिव देवकोटाले त नेपालमा जंगली च्याउका सौखिनहरूलाई नेपालमा ल्याएर उच्च गुणस्तरको पर्यटनको सुरुवात गर्न सकिने उदाहरण पेश गरेका छन् ।

जंगलका  फलफूल र कन्दमूलको पुनर्स्थापना

जंगलका फलफूल र कन्दमूल पुनर्स्थापना गर्नुपर्ने अवस्थामा किन छन् भन्ने कुरा बुझाउने एउटा प्रसङ्ग हेरौं । पूर्वी नेपालमा असार ८ गते धर्तीमाता रजस्वला हुने हुनाले त्यो दिन खनजोत गर्नुहुँदैन भन्ने स्थानीय मान्यता छ । असार महिनाको कामको चटारोमा फुर्सद निस्किने हुँदा मानिसहरूको जंगल जाने र जंगलका खानेकुरा संकलन गरेर खाने चलन छ ।

मैले झापा र मोरङमा यसरी असार ८ गते वन–जंगल चहार्ने दर्जनौं मानिससँग कुरा गरेको छु । उनीहरूको साझा अनुभव र निष्कर्ष छ, वनमा फलफूल निकै घटेका छन् । उस्तै परे रित्तोहात फर्किनुपर्छ । विशेषगरी रानी कुसुम, फँडिर, असारे, ढेडुझुला, अम्बके लटहर, चुंयेल, अर्चल, खन्यु, वन सुन्तला जस्ता असार महिनामा पाक्ने फलफूल घटेको स्थानीय बताउँछन् ।

तराईमा बस्ती विस्तार र जनसंख्या वृद्धिले वन विनाश गरेको र वनको महत्वपूर्ण प्रजातिहरूमा अधिक दोहनको चाप परेको कुरा सहजै बुझ्न सकिन्छ । चितवनको वरण्डाभार जंगलको कालीखोला रानी कुसुमको लागि निकै प्रख्यात ठाउँ हो । असार महिनामा रानी कुसुुम वनमा खाने मात्र हैन बोरामा नै बोकेर गाउँमा ल्याउने मानिस अहिले पनि भेटिन्छन् । तर अहिले फल लागेको बोट भेट्न गाह्रो पर्छ ।

नेपालको तराईमा त वन विनाश र अधिक दोहनले जंगली फलफूल घटे तर यो समस्या पहाड र वन बढेको ठाउँमा समेत देखिन्छ । यसको लागि हाम्रो वन व्यवस्थापन र पुनर्स्थापनाको पृष्ठभूमि हेर्नु उपयुक्त होला ।

वनका खानेकुराको सामाजिक, सांस्कृतिक महत्व त छँदैछ, अचेल बजारमा समेत वनका फलफूल र कन्दमूल प्रशोधन गरेर धुलो, चुक, खुदो, सर्वत, क्यान्डी, तेल, जाम, परम्परागत उपचार प्रणालीको द्रव्य मिश्रण र घरेलु मदिरा समेत बनाएर बिक्री गरिन्छ ।

सन् १९५० को वरिपरि नेपालको पहाडी भूभागमा वन विनाश, भूक्षय र बाढी पहिरो उच्च बिन्दुमा पुगेको मानिन्छ । सन् ६० र ७० को दशकमा यो वातावारणीय विनाश निरन्तर रह्यो र यसबारेमा प्राज्ञिक र विकासे बहस र चर्चाहरू पनि निकै भए । वन विनाश रोक्न र हरियाली वृद्धि गर्न ७० को दशकदेखि संरक्षित क्षेत्र स्थापना गर्नेदेखि लिएर सामुदायिक वन कार्यक्रमहरू सुरुआत गरिए । यिनै पहलको नतिजा स्वरूप नाङ्गा डाँडाकाँडामा रूख र हरियाली वृद्धि भयो ।

नेपालले वन क्षेत्र बढाएर उदाहरणीय काम गरेको भए पनि वन पुनर्स्थापनामा हाम्रो वस्तुगत आवश्यकता र अवस्था ख्याल नगर्दा हामीले हाम्रो प्राकृतिक वन फर्काउने अवसर ठिक ढंगले उपयोग गर्न सकेनौं कि भन्ने प्रश्नहरू यथावत् छन् । आज  हरियाली बढे पनि वनमा एकात्मकता बढ्दो छ भने वनमा विविधता सहित सम्पदाको उचित संरक्षण गर्न सकिएको छैन ।

वनमा मिचाहा प्रजातिको घनत्व र फैलावट बढ्दै गर्दा कतिपय च्याउका प्रजातिहरू घटेको स्थानीयहरू बताउँछन् । मजुरखुट्टी र जीबी साग हुने ठाउँमा वनमाराले ढाक्दा यस्ता सागपात घट्दै गएको छ ।

वन पुनर्स्थापना एवं वृक्षरोपणको क्रममा विभिन्न बाह्य प्रजातिका रूखहरू रोपिए । सागरनाथ र रतुवामाई वन परियोजनामा मसला, सिसौ र टिक रोप्ने क्रममा बाँकी रहेको प्राकृतिक जंगल मासियो । यो वृक्षरोपणको क्रममा त्यस क्षेत्रमा पाइने जंगली फलफूल र कन्दमूल मासिए वा उल्लेख्य  घटे । वन तरुल, करौना, भलायो, मल्लिडो, वन सुन्तला लोप हुने सँघारमा पुगे । वृक्षरोपण नगरेको ठाउँमा पनि वनका फलफूल र कन्दमूलको अवस्था सन्तोषजनक छैन ।

जलथल वरिपरि बस्ने स्थानीय ४० वर्ष अघिसम्म एउटा बोटमा ४०–५० वटासम्म माहुरीका घार हुने र वनबाट टिनका बट्टामा मह संकलन गर्ने गरेको सम्झन्छन् । गोठालो गएर फर्किंदा पेट भरेर फँडिर र कुसुम बोरामा बोकेर फर्केको अनुभव सुनाउने पनि छन् । ती जंगलमा अहिले माहुरीको घार भेटिनु कल्पना बाहिरको कुरा जस्तो लाग्छ । राम गुवा, कुसुम र पाँचफल जंगलमा अस्तित्वरक्षाको संघर्ष गर्दैछन् । अझै पनि हाम्रो वन व्यवस्थापन मूल रूपमा सालकै काठ वरिपरि घुमिरहेको छ ।

तसर्थ, आगामी दिनमा वन व्यवस्थापन गर्दा जंगली कन्दमूल लगायत जंगली फलफूलको पनि पुनर्स्थापना गर्न सकियो भने बिर्सिन लागेको स्वाद फर्काउनेछ । हाम्रो खानेकुराको मेन्यू फराकिलो बनाउनेछ । पोषण थप्नेछ । जंगली फलफूल र कन्दमूलले हामीलाई प्रकृतिसँग अझ नजिक ल्याउन सहयोग गर्नेछ । अनि, आउँदो पुस्तालाई वनमा आधारित सम्पन्न खाद्य संस्कृतिको पाठ पनि सिकाउन सकिनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM