काठमाडौं । बुढानीलकण्ठ नगर अस्पतालले स्थापना भएको छोटो अवधिमै उल्लेखनीय प्रगति गर्दै दुई वर्ष पूरा गरेको छ। यस अवधिमा अस्पतालले ६० हजारभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिँदै आगामी वर्षदेखि विशेषज्ञ सेवा थप विस्तार गर्ने तयारी गरेको जनाएको छ।
अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा हाल सञ्चालनमा रहेका सेवाहरूलाई थप गुणस्तरीय, प्रभावकारी र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सीमित स्रोतसाधनकै बीच नगर अस्पतालहरूले प्रभावकारी सेवा दिन सक्ने उल्लेख गर्दै बुढानीलकण्ठ नगर अस्पतालले विशेषज्ञ सेवा विस्तारमा समेत सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले स्थानीय तहअन्तर्गतका आधारभूत अस्पतालहरूको सुदृढीकरणमा प्राथमिकता दिइरहेको बताए।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित स्थापना गरिएको अस्पतालले छोटो अवधिमै भरोसायोग्य सेवा दिन सफल भएको बताए। उनले अस्पतालका सेवा-प्रवाहप्रति सेवाग्राहीकै प्रत्यक्ष मूल्याङ्कनलाई महत्व दिँदै कुनै गुनासो भए सिधै नगरप्रमुखसमक्ष राख्न आग्रह गरे।
उपप्रमुख अनिता लामाले दक्ष जनशक्तिको चयन र निःस्वार्थ सेवाभाव नै अस्पतालको प्रगतिको प्रमुख आधार भएको उल्लेख गरिन्। उनले अस्पताललाई स्वायत्त र व्यावसायिक ढंगले सञ्चालन गर्न नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरेको स्पष्ट पारिन्।
कार्यक्रममा पूर्व नगरप्रमुख उद्धव खरेलले स्थानीय स्वास्थ्य अवस्थाको तथ्याङ्कमा आधारित योजना निर्माणको आवश्यकता औँल्याउँदै नागरिकको स्वास्थ्य अवस्था पहिचानका लागि नियमित सर्वेक्षण गर्नुपर्ने धारणा राखे।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले प्रस्तुत गरेको प्रगति विवरणअनुसार हालसम्म ६१ हजार ८२३ जनाले अस्पतालबाट सेवा लिइसकेका छन्। पहिलो वर्ष १ हजार ८०७ जना सेवाग्राहीले सेवा लिएकोमा दोस्रो वर्ष मात्रै ३८ हजार २१६ जनासम्म पुगेको उनले जानकारी दिए।
उनका अनुसार अस्पतालमा हाल क्यूरेटिभ तथा क्लिनिकलतर्फ १४ र सार्वजनिक स्वास्थ्यअन्तर्गत निःशुल्क १० प्रकारका सेवा सञ्चालनमा छन्। साथै, २४सै घण्टा आकस्मिक सेवा उपलब्ध रहेको र २०८२ मंसिरदेखि वर्थिङ सेन्टर सञ्चालनमा आएको छ। हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा र हरेक बुधबार बालरोग ओपिडी सेवा पनि नियमित सञ्चालनमा रहेको उनले बताए।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. प्रदीप ज्ञवालीलगायतले बुढानीलकण्ठ क्षेत्रको स्वास्थ्य प्राथमिकता र नगर अस्पतालको भूमिकाबारे धारणा राखेका थिए।
















