२०८३ बैशाख ५ गते, शनिबार १३:३५

बिदाइमा बिस्फोट: मन्त्री इङ्नाममाथि सरुवा खेल र आर्थिक चलखेलको आरोप

काठमाडौं/सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुमार इङ्नामको बिदाइ कार्यक्रममा व्यक्त अभिव्यक्ति यतिबेला सार्वजनिक बहसको केन्द्र बनेको छ। उक्त कार्यक्रममा उनले कर्मचारी, इन्जिनियर तथा अर्थ मन्त्रालयका कर्मचारीप्रति प्रयोग गरेको भाषाशैलीलाई लिएर व्यापक आलोचना भइरहेको छ।

मन्त्रालय स्रोतका अनुसार, इङ्नामको असन्तुष्टि कर्मचारी सरुवासम्बन्धी योजना सफल हुन नसक्नुसँग जोडिएको बताइएको छ। मन्त्रालय तथा मातहतका निकायमा केही महत्वपूर्ण सरुवा गरी आर्थिक लाभ लिन खोजिएको आरोप लागे पनि उक्त योजना कार्यान्वयनमा जान सकेन। विशेषगरी स्वर्णिम वाग्ले लगायतको हस्तक्षेपपछि सचिवस्तरबाट कुनै निर्णय नगर्न निर्देशन दिइएको बताइन्छ।

यता, नयाँ सरकार गठनको चर्चा चलिरहँदा इङ्नामले सहरी विकास तथा भवन निर्माण विभागमा नेतृत्व परिवर्तन गर्न प्रयास गरेको आरोप पनि सार्वजनिक भएको छ। उनले सचिव गोपालप्रसाद सिग्देललाई महानिर्देशक परिवर्तनसम्बन्धी प्रक्रिया अघि बढाउन दबाब दिएको स्रोतको दाबी छ।

उक्त पदमा ल्याउन खोजिएका सहसचिव चक्रबर्ती कण्ठको नाम विवादमा तानिएको छ। अवकाश नजिकिँदै गरेका कण्ठलाई महानिर्देशक बनाउने प्रयास र त्यसका लागि आर्थिक चलखेल भएको आरोपले थप शंका उत्पन्न गरेको छ।

यस प्रकरणमा मन्त्रीका स्वकीय सचिव प्रवेश शिवाकोटी र सहसचिव नारायण मैनालीको नाम पनि जोडिएको छ। उनीहरूले मध्यस्थकर्ताको भूमिका खेलेको र पछिल्लो समय बारम्बार गोप्य भेटघाटमा संलग्न रहेको दाबी स्रोतहरूले गरेका छन्।

त्यसैगरी, निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि पुरानो मिति प्रयोग गरेर स्थानीय पूर्वाधार विभागमा महानिर्देशक नियुक्ति गरिएको आरोप लागेको छ। अशोक साहको नियुक्तिमा प्रक्रिया र समयको पारदर्शितामाथि प्रश्न उठाइएको छ।

स्रोतका अनुसार, कथित रूपमा लिइएको रकम फिर्ता गर्नुपर्ने अवस्थाले उत्पन्न असन्तुष्टि नै बिदाइ कार्यक्रममा देखिएको आक्रोशको कारण हुनसक्ने अनुमान गरिएको छ। कार्यक्रममा उनले विशेषगरी सचिव र विभागीय प्रमुखहरूतर्फ आक्रोश व्यक्त गरेका थिए।

प्रशासनिक परम्पराअनुसार पदबाट बिदा हुने अवस्थामा रहेका मन्त्रीले दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न नपाउने व्यवस्था भए पनि इङ्नामले त्यसविपरीत कदम चाल्न खोजेको आरोप लागिरहेको छ।

मन्त्रालयका एक कर्मचारीले भने, “बाहिरबाट हेर्दा इमान्दार देखिए पनि भित्रभित्रै आर्थिक लाभका लागि अस्वाभाविक प्रयासहरू भएको अनुभूति भयो।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM