काठमाडौँ/‘महाराज’ पात्रको पोशाकलाई लिएर चौतर्फी विवाद भएपछि कलाकार मनोज गजुरेलले माफी मागेका छन्।
‘कमेडी दरबार ३’ को पत्रकार सम्मेलनका क्रममा प्रयोग गरिएको ‘महाराज’ पात्रको पोशाकलाई लिएर विवाद उठेपछि उनले आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन्।
‘हाम्रो उद्देश्य कसैको मान-मर्दन गर्ने वा भावनामा चोट पुर्याउने कदापि थिएन। कार्यक्रमको ‘थिम’ अनुसार, कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र प्रस्तुत गरिएको थियो। तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमी-कमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौँ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
उनले लगाएको पोशाक र अभिनयको विषयलाई लिएर सर्वसाधारणले उनको चर्को आलोचना गरेका थिए। विशेष गरी राजावादी एवम् राजसंस्थाप्रति आस्था राख्नेहरूले उनको खुलेर विरोध गर्दै माफी माग्नुपर्ने माग राखेका थिए।
उनले नेपालका सांस्कृतिक गरिमा, ऐतिहासिक धरोहर र राष्ट्रिय सम्पदाजस्ता विषयमा हास्यव्यङ्ग्य गर्दा आगामी दिनमा थप सचेत र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, देश र समाजलाई जोड्ने, साझा र समावेशी कलाकारितालाई प्राथमिकता दिने उनको भनाइ छ।
















