२०८३ बैशाख ७ गते, सोमबार १४:२१

नारायणी अस्पताल वीरगंजमा पहिलोपटक लेप्रोस्कोपिक स्त्रीरोग शल्यक्रिया सफल

वीरगंज । नारायणी अस्पताल वीरगंजले स्वास्थ्य सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालमा पहिलोपटक लेप्रोस्कोपिक विधिबाट फाटेको एक्टोपिक गर्भावस्था (Ruptured Ectopic Pregnancy) तथा ट्युबल लिगेसन सम्बन्धी स्त्रीरोग शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताका अनुसार यो शल्यक्रियाले नारायणी अस्पतालमा आधुनिक, सुरक्षित तथा बिरामीमैत्री शल्य सेवाको सुरुवात भएको संकेत गरेको छ। लेप्रोस्कोपिक प्रविधिबाट गरिएको शल्यक्रियाले बिरामीलाई कम पीडा, छिटो स्वास्थ्य लाभ तथा कम जोखिमको सुविधा प्रदान गर्ने उहाँको भनाइ छ।

शल्यक्रियाको सफलतापछि अध्यक्ष गुप्ताले अपरेशन थिएटर (OT) टिम, चिकित्सक, नर्स तथा सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै समर्पण, टिमवर्क र प्रतिबद्धताकै कारण यो ऐतिहासिक उपलब्धि सम्भव भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा नारायणी अस्पताललाई थप प्रविधिमैत्री र विशेषज्ञ सेवासहितको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

यो सफलतासँगै नारायणी अस्पताल वीरगंजले सरकारी अस्पतालमै उन्नत स्त्रीरोग शल्य सेवाको पहुँच विस्तार गर्दै आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम चालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरंजन साहले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM