काठमाडौँ/भारतका १७ वर्षीय किशोर एआई उद्यमी राहुल जोन आजु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सेल्फी खिचेपछि चर्चामा आएका छन्। रुसको राजधानी मस्कोमा आयोजित ‘एआई जर्नी २०२६’ सम्मेलनका क्रममा पुटिनसँग खिचेको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भारतको केरलाका आजु ‘एआई किड अफ इन्डिया’ नामले समेत परिचित छन्। उनले सानै उमेरदेखि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा रुचि राख्दै विभिन्न एआई उपकरण विकास गरेका छन्। उनी एआईसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्नुका साथै आफ्नै प्रविधि कम्पनी ‘एआई रियल्म टेक्नोलोजिज’ का संस्थापकसमेत हुन्।
रुसी दूतावासले पनि आजुको उपलब्धिलाई विशेष महत्त्व दिँदै उनको पुटिनसँगको भेट सार्वजनिक गरेको छ। सम्मेलनका क्रममा उनले कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभसँग पनि भेट गर्ने अवसर पाएका थिए।
पुटिनसँगको तस्बिर सार्वजनिक गर्दै आजुले आफूले बाल्यकालमा बनाएका भिडियोदेखि रुसी राष्ट्रपतिसँग सेल्फी खिच्नेसम्मको यात्रा कहिल्यै कल्पना नगरेको बताएका छन्।
सानै उमेरमा प्रविधिको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका आजुको यो अन्तर्राष्ट्रिय भेटले युवा पुस्तामा एआईप्रतिको बढ्दो सम्भावना र आकर्षणलाई समेत उजागर गरेको छ।
साभार : अग्नीबाँण















