इन्जिनियर चौधरीविरुद्ध डेढ लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा

200 Shares

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख तथा करारका इन्जिनियर प्रदीप कुमार चौधरीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको र लिएको अभियोगमा आयोगले बिहीबार चौधरीविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार सडक निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रियामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै चौधरीले कमिसन तथा घुसबापत रकम माग गरी बार्गेनिङ गरेका थिए। अनुसन्धानका क्रममा उनले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा फोनपे (FonePay) मार्फत एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।

निर्माण व्यवसायीसँग अनुचित लेनदेन गरेको, ह्वाट्सएपमा कुराकानी गरेको तथा मोबाइल बैंकिङमार्फत रकम पठाइएको प्रमाणसहित उजुरी परेपछि आयोगले घटनामाथि अनुसन्धान अघि बढाएको थियो।

आयोगले चौधरीले राष्ट्रसेवकको पद तथा ओहदाको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।

चौधरीलाई बिगोबमोजिम जरिवाना तथा ऐनअनुसार कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM