वीरगञ्ज । बाराको प्रसौनी क्षेत्रमा हरि खेतान बहुमुखी क्याम्पसको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गएको छ। एउटै दुर्घटनामा दुई होनहार युवाको मृत्यु भएपछि बारा परवानीपुर गाउँपालिका–बहुअरी शोकमा डुबेको छ।
गत मंसिर ३ गते अपराह्न करिब ४ः३० बजे प्रसौनी गाउँपालिका नजिक पतञ्जलि उद्योगअगाडि दुर्घटना भएको हो। वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको क्याम्पसको प्रदेश ०२–०३–००१ क ३९१ नम्बरको बसले प्रसौनी बजारबाट घर फर्किरहेका दुई युवक सवार ना ४१ प २८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार परवानीपुर–बहुअरी निवासी सुरेशप्रसाद कुर्मीका २२ वर्षीय छोरा छविलाल पटेल र प्रेम पटेलका १८ वर्षीय छोरा मनीष पटेल गम्भीर घाइते भएका थिए। दुवैको छाती र टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि बहुअरीस्थित एलएस न्यूरो एण्ड जनरल अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा छविलालको दुर्घटनाकै दिन अपराह्न ५ः१५ बजे मृत्यु भएको थियो भने मनीषले बुधबार बिहान करिब ८ बजे अन्तिम सास लिएका थिए।
दुर्घटनापछि प्रहरीले बस र त्यसका चालक बजरंग राउत कुर्मीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनापछि मृतकका परिवारले चालकको लापरबाहीका कारण आफ्ना छोराहरूको ज्यान गएको आरोप लगाएका छन्। घाइतेको उपचारका लागि तत्काल आवश्यक खर्चको व्यवस्था गर्न क्याम्पस प्रशासनले सहयोग नगरेको उनीहरूको गुनासो छ। पीडित परिवारका अनुसार क्याम्पस प्रशासनले बीमाबापतको रकम प्राप्त भएपछि खर्च उपलब्ध गराउने आश्वासन दिँदै तत्काल गाउँबाट चन्दा संकलन गरेर उपचार गराउन भनेको थियो।
उपचारका क्रममा अस्पतालका चिकित्सकबाट समेत लापरबाही भएको पीडित परिवारको आरोप छ। तर, एलएस न्यूरो एण्ड जनरल अस्पताल प्रशासनले उक्त आरोप अस्वीकार गरेको छ। अस्पतालले दुवै बिरामीको जीवन रक्षाका लागि आवश्यक उपचारमा कुनै कमी नराखिएको दाबी गर्दै चिकित्सकीय लापरबाही नभएको स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार क्याम्पस प्रशासनले मृतक परिवारलाई उपचार खर्च, दाहसंस्कार तथा क्रिया खर्चसहित कानुनबमोजिमको क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेपछि परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेका छन्।
तर, कलिलै उमेरमा दुई छोराको मृत्यु भएपछि दुवै परिवारमा गहिरो शोक छाएको छ। घटनालाई लिएर स्थानीय बासिन्दा तथा मृतकका आफन्तले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।















