रास्वपाभित्र शक्ति संघर्षको इफेक्ट: भारत भ्रमण लगत्तै दुई वरिष्ठ मन्त्री दण्डित

200 Shares

काठमाडौँ/भारत भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्री वालेन्द शाहले परराष्ट्रमन्त्री शिशिर खनाल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दण्डित गरेका छन्।

प्रधानमन्त्री शाहले मन्त्रिपरिषदको वरियतामा तेस्रो र चौथो नम्बरमा रहेका खनाल र श्रेष्ठलाई पछि पार्दै सातौं वरियतामा रहेकी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा गरेका हुन्। तर, पार्टीको उपसभापति रहेका कारण पनि गौतमलाई बढुवा गरिएको बताइन्छ।

सरकारले सफल भनेको भारत भ्रमणको जिम्मेवारी लिएका परराष्ट्र मन्त्री र कार्यवाहक प्रधानमन्त्रीलाई नै घटुवा गरेर प्रधानमन्त्री शाहले प्रष्ट राजनीतिक सन्देश दिन खोजेका छन्। यसले रास्वपामा पार्टी सभापति रवि लामिछाने कि प्रधानमन्त्री शाह हावी हुने प्रतिस्पर्धा सुरु भएको देखिन्छ।

यो निर्णयले रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलन र संघर्ष चर्किँदै गरेको देखाएको छ। स्रोतका अनुसार शाहले पार्टी सभापति रवि लामिछानेको कित्ता छाडेर आफ्नो पक्षमा उभिन खनाल र श्रेष्ठ दुवैलाई आग्रह गरेका थिए।

उनीहरूले अस्वीकार गरेपछि छापामार शैलीमा वरियता हेरफेरका लागि राष्टपति रामचन्द्र पौडेलले समक्ष सिफारिस गरेका हुन्। लामिछानेसँग निकट मानिएकी गौतमले पछिल्लो समय प्रधानमन्त्री शाहको समेत विश्वास आर्जन गरेकी छन्। उनले भारत भ्रमण अघि नै आफूलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग गरेको स्रोतको दाबी छ।

मन्त्रिपरिषद् गठन हुने बेलामा नै खनालप्रति शाह अनुदार देखिएका थिए। अघिल्लो पटक सांसद र मन्त्रीसमेत भइसकेका खनाललाई पाँचौं वरियतामा राखिएको थियो। उनको असन्तुष्टि र सार्वजनिक रूपमा विरोध भएपछि श्रेष्ठ र खनाल दुवैको वरियता सच्याएर अगाडि सारिएको थियो। त्यसबेला एघारौं नम्बरमा रहेकी सोविता गौतमलाई सातौं नम्बरमा तानिएको थियो।

मन्त्रिपरिषदको वरियता हेरफेरअघि नै मलेसिया श्रमिक ठगी प्रकरणको उठान हुनु अर्थपूर्ण छ। एकातिर वरियता घटुवा हुनु, अनि अर्कोतिर विराजभक्त श्रेष्ठका ससुरा शरदसिंह भण्डारी र हालका सभामुख एवं पूर्वश्रममन्त्री डोलप्रसाद अर्यालको नाम समेत चर्चामा जोडिनु संयोग मात्र नभएको रास्वपा जानकार स्रोतको दाबी छ। अर्याल सभापति लामिछानेको विकल्पका रूपमा हेरिएका छन्।

केही दिनअघि प्रधानमन्त्री शाहले अहिले घटुवा गरिएका दुवै मन्त्रीलाई देश उँभो लाउने टोलीका रूपमा व्याख्या गरेका थिए।

यो प्रकरणमा अहिले शक्तिविहीन अवस्थामा रहेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरिएको छ।

साभार : देश सञ्चार

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM