पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

200 Shares

काठमाडौँ/ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५९ वर्षीय अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

स्याङ्जाको करेन्डाँडा–४ स्थायी ठेगाना भएका अर्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतले मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको थियो।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अर्याल संलग्न रहेको पाइएको छ।

मलेसिया र नेपाल सरकारबीच भएको श्रम समझदारी (एमओयू) विपरीत श्रमिकहरूबाट गैरकानुनी रूपमा संकलित रकममध्ये कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेशी मुद्रा अपचलन गरी मलेसिया पठाउने निर्णयमा उनी प्रत्यक्ष संलग्न रहेको प्रहरीको आरोप छ।

अर्यालले अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने गरी निर्णय गरेको सीआईबीले जनाएको छ।

संगठित समूहको लाभका लागि पदीय जिम्मेवारी विपरीत श्रमिक ठगीमा मौन रही कानुनी उपचार नगराएको तथा अवैध रूपमा संकलित रकम मलेसिया पठाएर आर्थिक लाभ लिने र दिलाउने कार्यमा समेत उनको संलग्नता देखिएको ब्युरोले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM