काठमाडौं । सर्लाहीमा करिब ११ कट्ठा जग्गा किर्ते कागजात तयार गरी अर्कै व्यक्तिका नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार २०८३ मंसिर १० गते भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोईराला, तत्कालीन खरिदार राजेश कुमार झा, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा सचिव राम गुलाम राय, तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी तथा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र भोला धामी थारूविरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस वडा नं. २(ख) स्थित कित्ता नम्बर ६२ को ०–११–२ जग्गा दर्ता गर्ने क्रममा वास्तविक जग्गाधनीको विवरण परिवर्तन गरी अर्कै व्यक्तिको नाममा दर्ता गराइएको थियो। उक्त जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहे पनि उनीहरूको हकभोगलाई बेवास्ता गर्दै कुनै पनि समयमा उक्त जग्गामा हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारूको नाममा जग्गा रहेको देखाउने गरी सरकारी अभिलेखमा हेरफेर गरिएको आयोगको अनुसन्धानबाट खुलेको छ।
आयोगको अनुसन्धानअनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा हुँदै नभएको तथ्य खडा गरी जग्गाधनीसम्बन्धी विवरण सच्याउने, गलत व्यक्तिको नाममा दाखिल खारेज गर्ने तथा गलत लिखत र जग्गाधनी स्रेस्ता पूर्जा तयार गर्ने कार्य गरेका थिए। सरकारी निकायका कागजात अनधिकृत रूपमा हेरफेर तथा थपघट गरी वास्तविक जग्गाधनीलाई हानि–नोक्सानी पुर्याउने र आफूहरूलाई गैरकानुनी लाभ दिलाउने बदनियत राखिएको अख्तियारको ठहर छ।
अख्तियारले तत्कालीन मालपोत प्रमुख यादव, नायब सुब्बा कोईराला र खरिदार झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको सजाय माग गरेको छ। तत्कालीन वडा सचिव रायविरुद्ध ऐनको दफा ९ र दफा १९ को उपदफा (२) तथा तत्कालीन वडा अध्यक्ष चौधरीविरुद्ध दफा ९ र ११ बमोजिम सजायको मागदाबी लिइएको छ।
त्यस्तै, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई मुख्य कसुरदारले गरेको भ्रष्टाचारजन्य कार्यबाट नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा अभियोजन गरिएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ को प्रतिबन्धात्मक व्यवस्थाबमोजिम मुख्य कसुरदारसरह सजाय हुनुपर्ने माग अख्तियारले गरेको छ।
आयोगले सातै जनाविरुद्ध आवश्यक सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।















