नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रोजगार संयोजक गिरीविरुद्ध मुद्दा

200 Shares

वीरगञ्ज । बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा कार्यरत ओम प्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गिरीले सरकारी पदमा नियुक्ति लिन पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेपछि आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार गिरीले २०७८ वैशाख १ गतेदेखि फेटा गाउँपालिकामा नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाउन तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका थिए। उक्त प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा गिरीको नभई अन्य व्यक्तिको भएको पुष्टि भएको आयोगले जनाएको छ।

आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाई झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको पद तथा ओहोदा प्राप्त गरेको देखिएको भन्दै आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा गिरीविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM