प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर

200 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालय सदस्यहरूको जिम्मेवारीमा फेरबदल गरेका छन्। सहसचिव सरहका सचिवालय सदस्यहरूको कार्यसम्पादनलाई आधार मान्दै प्रधानमन्त्री शाहले नयाँ जिम्मेवारी बाँडफाँट गरेका हुन्।

उनले पाँच जनालाई विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसंयोजक तोकेका छन्। नयाँ जिम्मेवारीअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ।

सन्तोष गिरीले अन्तर निकाय समन्वय संयोजकको जिम्मेवारी पाएका छन्। यसअघि उनीहरूले क्रमशः विकास परियोजना र कार्यक्रम तथा भ्रमण समन्वयको जिम्मा सम्हाल्दै आएका थिए।

त्यस्तै, यसअघि उपसचिव सरहको सचिवालय सदस्यका रूपमा कार्यरत विशाल अधिकारीको पदोन्नति गर्दै सहसचिव सरहको सरकारी मामिला तथा योजना समन्वय संयोजक बनाइएको छ।

यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी पाएकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक तोकिएको छ भने यसपटक छुट्टै अनुसन्धान विज्ञको पद राखिएको छैन। विश्व राईले भने सामाजिक विकाससम्बन्धी विषयलाई निरन्तरता दिँदै सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी पाएका छन्।

यसैगरी, पाँच जनालाई उपसचिव सरहको सेवा सुविधा पाउने गरी विभिन्न क्षेत्रका उपसंयोजकको जिम्मेवारी तोकिएको छ। जसमा सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी दिइएको छ।

यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएका सचिवालय सदस्य माधव खनाललाई भने सचिवालयबाट हटाइएको छ। हाल उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा छैन।

सचिवालयका उच्च तहका अन्य पदाधिकारीहरू भने यथावत् रहेका छन्। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार (बेन) कायम छन् भने राजनीतिक सल्लाहकारमा असिम शाह यथावत् छन्। त्यस्तै, मन्त्री सरहकै स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कार्यरत रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM