ढाका । मलेसियाबाट स्वदेश फर्किएका एक बङ्गलादेशी नागरिकलाई लिएर ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर तीन महिलाबिच तँछाडमछाड र विवाद हुँदा केही समय तनावग्रस्त स्थिति सिर्जना भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका ती पुरुष विमानस्थलको आगमन कक्षबाट बाहिर निस्कने बित्तिकै तीनै जना महिलाले उनलाई आफ्नो श्रीमान् भएको दाबी गर्दै तानातान सुरु गरेका थिए ।
आफ्नो श्रीमान्लाई घर लैजाने विषयमा ती महिलाहरूबिच चर्को भनाभन, रुवाबासी र हात हालाहालको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विमानस्थल परिसरमा अचानक भएको यस असामान्य घटनाका कारण त्यहाँ उपस्थित यात्रु तथा सर्वसाधारणको ठुलो भिड जम्मा भएको थियो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूले तत्काल हस्तक्षेप गरी भिडलाई तितरबितर पार्नुका साथै विवाद साम्य पारेका थिए ।
दक्षिण एसियाली सञ्चारमाध्यम ‘द एक्सप्रेस ट्रिब्यून’ लगायत विभिन्न सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो यतिबेला तीव्र रूपमा भाइरल भइरहेको छ । यद्यपि, सार्वजनिक भएको उक्त दृश्यमा देखिएका व्यक्तिहरूको वास्तविक पहिचान र ती महिलाहरूले गरेको दाबीको आधिकारिक पुष्टि भने अझै हुन सकेको छैन ।















