काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्याण्डबाट नेपाल आएका भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेको साथबाट प्रहरीले ५.५ किलो हेरोइन बरामद गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार शंकास्पद गतिविधि देखिएपछि कात्तिक २८ गते विमानस्थलमा खटिएको ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गरेको थियो। सोही क्रममा उनको लगेज र बिरालोको खानाका प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा सेतो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधको नेपाली बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको ब्युरोको दाबी छ। प्रतिग्राम ४० हजार रुपैयाँका दरले हिसाब गर्दा उक्त परिमाणको हेरोइनको मूल्य २२ करोड रुपैयाँ पुग्ने देखिन्छ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागूऔषध कारोबारको सञ्जालमा सक्रिय व्यक्तिमध्ये एक रहेको खुलेको ब्युरोले जनाएको छ। उनी यसअघि पनि दुई पटक लाओसबाट नेपाल आएको तथा विभिन्न मुलुकको भ्रमण गरेको अनुसन्धानका क्रममा पाइएको छ।
ब्युरोले घटनालाई अन्तर्राष्ट्रिय लागूऔषध ओसारपसारसँग जोडेर थप अनुसन्धान अघि बढाएको छ। लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार यस परिमाणको लागूऔषध कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।















