छठ पूजास्थलमा तोडफोड गर्ने आरोपमा रिजवान मन्सुरी र जहुर मियाँ पक्राउ

200 Shares

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार छठ पर्वका दिन साँझको पूजा सम्पन्न गरी श्रद्धालुहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले उक्त पूजास्थलमा तोडफोड गरेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। तोडफोडबाट क्षति पुगेको पूजास्थलको पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले छठ पूजास्थल पुनःनिर्माण भइसकेकाले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजाआजामा सहभागी हुन आग्रह गरेको छ।

धार्मिक आस्थासँग जोडिएको पूजास्थलमा भएको तोडफोडको घटनाले स्थानीयस्तरमा धार्मिक तथा सामाजिक सद्भावको विषयलाई समेत चर्चामा ल्याएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM