सांसद पन्तको पहलमा नारायणीको पानी मिसाइएपछि छठअघि स्वच्छ बन्यो सिर्सिया नदी

200 Shares

वीरगञ्ज । लामो समयदेखि प्रदूषणको चपेटामा परेको सिर्सिया नदी छठ पर्वको पूर्वसन्ध्यामा केही हदसम्म स्वच्छ र सङ्लो बनेको छ। गण्डक नहरमार्फत नारायणी नदीको पानी सिर्सियामा मिसाइएपछि नदीको पानीको सतह बढ्नुका साथै सङ्लिएको हो।

सांसद हरि पन्तको पहलमा नारायणी नदीको पानी गण्डक नहर हुँदै जगन्नाथपुरबाट सिर्सिया नदीमा मिसाइएको हो। यसका लागि उनले विगत १५ दिनदेखि भारतीय पक्षसँग भारतीय महावाणिज्य दूतावास र नारायणी सिँचाइ डिभिजन कार्यालयमार्फत निरन्तर समन्वय तथा संवाद गरेका थिए। लामो प्रयासपछि गण्डक नहरको पानी सिर्सियामा ल्याउन सम्भव भएको सांसद पन्तले बताएका छन्।

पानी उपलब्ध गराउन सहयोग र समन्वय गर्ने नारायणी सिँचाइ कार्यालय वीरगञ्ज तथा भारतीय महावाणिज्य दूतावासप्रति सांसद पन्तले आभार व्यक्त गरेका छन्।

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएका सांसद पन्तले यसअघि प्रधानमन्त्री बालेन्द्र साहसमक्ष समेत नदीको अवस्थाबारे ध्यानाकर्षण गराएका थिए। उनले प्रतिनिधिसभामा पनि सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सफाइको विषयलाई जोडदार रूपमा उठाउँदै आएका थिए।

उनको पहलपछि गृहमन्त्री सुदन गुरुङले समेत सिर्सिया नदीको स्थलगत अवलोकन तथा निरीक्षण गरेका थिए। त्यसपछि उद्योग मन्त्रालयले नदी प्रदूषणमा संलग्न उद्योगहरूलाई जरिवाना गर्नुका साथै प्रदूषण नियन्त्रणका लागि निरन्तर निगरानी र सचेत गराउने काम गर्दै आएको बताइएको छ।

छठ पर्वमा श्रद्धालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने भएकाले नदीको सरसफाइ र स्वच्छता धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। छठको मुखमा नारायणीको पानी मिसाएर सिर्सियालाई सङ्ल्याउने प्रयासले स्थानीयवासीमा केही राहत र आशा जगाएको छ।

सांसद पन्तले सिर्सिया नदीलाई स्थायी रूपमा स्वच्छ र प्रदूषणमुक्त बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आफ्नै कार्यकालमा सिर्सिया सफा गरेरै छाड्ने दाबी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM