२०८२ असार ३१ गते, मंगलवार ०२:१८

‘दोस्रो पञ्चवर्षीय योजनाका दस्ताबेज नफेरिने गरी तयार हुँदैछ’




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाका दस्ताबेजले अक्षरत मूर्तरूप पाउने गरी नीतिगत आधारहरू तयार गर्न लागिएको बताउनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले सरकार फेरिए पनि दोस्रो पञ्चवर्षीय दस्ताबेज नफेरिने गरी प्रदेशको नीति, कार्यक्रम तथा बजेटको प्रतिविम्ब तयार गर्न लागिएको जानकारी दिनुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले कम राजश्व र संघ सरकारको अनुदानमा भर पर्नुपर्ने बाध्यताका कारण सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताउनुभयो । प्रदेशको आन्तरिक आम्दानी अहिले पनि ५४ करोड मात्रै भएको जनाउँदै मन्त्री शाहले राजश्वमा वृद्धि ल्याउने उद्देश्यले एक महिनाअघि राजस्व शाखा खोलिएको जानकारी दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमा आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारूप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषयहरू, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रम लगायतका विषय प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियामा विश्वविद्यालय तथा आर्थिक क्षेत्रका जानकारहरूले कर्णालीको विकासका लागि ‘कर्णाली मोडल’ तयार गरी स्थानीय उत्पादनमा आधारित उद्योग धन्दाहरूको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM