इटहरी, ३० असार — सुनसरीको हरिनगरा गाउँपालिका–६ मा १७ वर्षीया किशोरी अर्जना खातुनको गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न भिनाजु आजाद मियाँ आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ। भारतीय नागरिक मियाँको विरुद्धमा भारतमै चोरीलगायत आपराधिक गतिविधिमा संलग्न भएको आशंकासहित प्रहरी अनुसन्धान अघि बढिरहेको छ।
प्रहरीका अनुसार भारतको बिहार अन्तर्गत पर्ने अररिया जिल्लाका स्थायी बासिन्दा ३५ वर्षीय मियाँ राति–राति मात्र नेपाल आउने गर्थे र सालीहरू भएको घरमा जाने गरेको खुलेको छ। आइतबार राति पनि उनी हरिनगरस्थित खातुनको घरमा पुगेका थिए। सोही क्रममा उनले साली अर्जनालाई पछाडिबाट गोली हानेका थिए। गोली लागेर घटनास्थलमै खातुनको ज्यान गएको प्रहरीले जनाएको छ।
मृतक अर्जना र उनकी बहिनी मात्र घरमा बस्दै आएका थिए। हत्या किन गरिएको हो भन्नेबारेमा हालसम्म स्पष्ट हुन नसकेको प्रहरी बताउँछ। आरोपी मियाँको खोजी तीव्र पारिएको छ भने नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरू सीमावर्ती क्षेत्रमा सञ्जाल फैलाएर निगरानी गरिरहेका छन्।
हत्या पश्चात खातुनको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरी स्रोतका अनुसार आजाद मियाँ भारतमा समेत आपराधिक गतिविधिका कारण सुरक्षानिकायको निगरानीमा थिए र नेपालमा लुकीछिपी बस्दै आएका थिए। हाल उनी फरार छन्।
घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई चाँडै पक्रने गरी सुराकी संकलन र सीमामा कडाइ गरिएको सुनसरी प्रहरीले जनाएको छ।
















