काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको हालको सत्ता गठबन्धनलाई “अप्राकृतिक” भन्दै त्यसको चरित्र जनताले नै लाज मान्ने गरी उजागर भइसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार दलाल, बिचौलिया र स्वार्थ समूहको निर्देशनमा चलिरहेको गम्भीर आरोप लगाए।
‘सरकार बनाउने क्रममा तपाईंहरूले जुन तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ,’ उनले भने, ‘अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको यो अप्राकृतिक गठबन्धनले आफ्नो चरित्र आफैं प्रकट गरिसकेको छ।’
उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी प्रकरण, सरकारी जग्गा हिनामिना, विद्युत बक्यौता मिनाहा, भू–माफियाको संरक्षण, सरुवा–नियुक्तिमा हुने आर्थिक लेनदेनजस्ता विषयहरूको उल्लेख गर्दै सरकार नियामक निकायहरूमाथि समेत बिचौलियाको दबाबमा काम गरिरहेको आरोप लगाए।
‘स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता संवेदनशील विषयमा भइरहेको अनियमितता गम्भीर चिन्ताको विषय बनेको छ,’ उनले भने, ‘सरकार पारदर्शिता र कानूनी मापदण्ड अनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठेको छ।’
अध्यक्ष प्रचण्डले हालको सरकार कमिसन डिल र दलालहरूको इशारामा संचालित भइरहेको दाबी गर्दै यो प्रवृत्ति सुशासनका लागि घातक भएको तर्क गरे। ‘सरकार दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर लोकतन्त्रलाई नै जोखिममा पार्ने संकेत देखिएको छ,’ उनले थपे।
















