काठमाडौं/
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध संसद र सडक दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुआतमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा एकपछि अर्को गर्दै भ्रष्टाचारका प्रकरणहरू सार्वजनिक भइरहँदा प्रधानमन्त्री नेतृत्वमा गठित सुशासन आयोगको मौनता प्रति गम्भीर प्रश्न उठाए।
“प्रधानमन्त्रीको नेतृत्वमा गठित सुशासन आयोगले अहिले के गरिरहेको छ?” भन्दै लिङ्देनले थपे, “मन्त्रीहरू लेनदेन काण्डमा मुछिएका छन्, यदि उनीहरूमा नैतिकता र सुशासनप्रति प्रतिबद्धता बाँकी छ भने के उनीहरूले राजीनामा दिनुपर्दैन?”
अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग पनि राखे। उनले सभामुखलाई जनताको आवाजप्रति गम्भीर रहन आग्रह गर्दै प्रतिपक्षी दलले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न पहल लिनुपर्नेमा जोड दिए।
“जब प्रतिपक्षी दल सदनमा गम्भीर प्रश्न उठाइरहेका छन्, त्यस्तो अवस्थामा जबरजस्ती बैठक चलाउने अभ्यास संसदीय मर्यादाविपरीत छ,” लिङ्देनले भने, “प्रतिपक्षको आवाज दबाएर जनताप्रति उत्तरदायी शासन सम्भव छैन।”
संसदमा उठेका प्रश्नमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले समेत ऐक्यबद्धता जनाउँदै गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि उठेका आरोपको निष्पक्ष छानबिनको माग गरे।
संसदमा धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठकबाट बहिष्कार गर्दै बाहिरिएका थिए।
















