काठमाडौं, ३० असार — जनपक्षीय शिक्षा ऐनको माग गर्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच भनाभन समेत भएको छ।
अखिल (क्रान्तिकारी) ले शिक्षा प्रणालीमा आमूल सुधारको माग गर्दै निशुल्क, समान र वैज्ञानिक शिक्षाको सुनिश्चितता हुने जनपक्षीय शिक्षा ऐन तुरुन्त जारी गर्न सरकारलाई दबाब दिएको हो। संगठनका अनुसार वर्तमान शिक्षानीति पहुँचवालालाई अनुकूल भए पनि पछाडि पारिएका समुदायलाई अझै अवसरबाट वञ्चित गरिरहेको छ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले “निशुल्क शिक्षा लागू गर”, “अध्ययनसँगै रोजगारीको ग्यारेन्टी गर”, “शिक्षा हाम्रो अधिकार हो” जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। धेरैजसो विद्यार्थी विद्यालय पोशाकमै सहभागी भएका थिए।
प्रदर्शनका क्रममा प्रहरीले विद्यालय पोशाकमा विद्यार्थी सडकमा देखिएपछि हस्तक्षेप गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन खोज्दा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको र केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
आन्दोलनकारीले जनताको पहुँचमा आधारित शिक्षा प्रणाली निर्माण नगरेसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।
शिक्षा सुधारको मागसहित विद्यार्थी संगठनहरूले पटक–पटक सरकारलाई दबाब दिँदै आएका छन्। तर, हालसम्म माग सम्बोधन हुन नसक्दा आन्दोलन चर्किंदै गएको हो।
















