काठमाडौं, ३० असार — प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्तिहरू पनि सहभागी भएको आशंकामा गृहमन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ।
गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई उक्त विषयको गहिरो छानबिन गर्न निर्देशन दिएका हुन्। मन्त्री लेखकले भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक को–को सहभागी भए, उनीहरू कुन माध्यमबाट स्पेन पुगे, र त्यसका लागि आवश्यक कागजी प्रक्रिया कसरी अघि बढाइयो भन्ने बारे स्पष्ट विवरण संकलन गर्न निर्देशन दिएका छन्।
“प्रधानमन्त्रीज्यूको नेतृत्वमा गएको सरकारी टोली बाहेक अरू को–को स्पेन पुगे भन्ने यथार्थ पत्ता लगाउन आवश्यक देखिएको छ,” मन्त्री लेखकले भने, “उनीहरूको भिजिट भिसा कसले र कसरी बनायो, कुन संस्था वा व्यक्तिबाट प्रक्रिया अघि बढाइएको थियो भन्ने कुरा पनि अनुसन्धानको दायरामा आउँछ।”
छानबिन कार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइएको छ। गृहमन्त्रीले दोषी प्रमाणित हुने व्यक्तिहरूविरुद्ध कानुनी कारबाही हुने पनि स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेनको भ्रमणमा निस्किएका थिए। अब सो भ्रमणसँग जोडिएका अतिरिक्त सहभागिताबारे अनुसन्धानले नयाँ तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।
















