चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २१ पुस ।
आगामी पुस २७ गतेका दिन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शिव सेना नेपालले सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा १०८ फिट लामो पुष्पमाला अर्पण गर्ने भएको छ ।
शिव सेना नेपालका केन्द्रिय संयोजक अनिल बस्नेत (बाबा) ले दिनु भएको जानकारी अनुसार महागुरु गोरखनाथ र गोरखकालीका सेना वीर गोर्खाली भनेर विश्वभर चिनाउने राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा एकताको सन्देशसहित पुस २७ गतेका दिन सिंहदरबारस्थित शालिकमा शिव सेना नेपालले सो माल्यार्पण गर्ने निर्णय गरेको हो ।
अध्यक्ष बस्नेतले भने, “शिव स्वरुप महायोगी गुरु गोरखनाथ र भगवती गोरखकालीको आशिर्वाद र असिम कृपाबाट राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको अटल प्रयासमा यस पबित्र साझा फूलबारीको निर्माण भएको हो ।” राष्ट्रनिर्माताको योगदान र बलिदानीलाई अवमूल्यन गर्नेलाई इतिहासले माफ गर्दैन ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई सम्पूर्ण नेपालीका साझा धरोहरको रुपमा मान्न आवश्य रहेको बताउनु हुँदै एकताको सन्देशसहित पुस २७ गते बिहान ११ बजे काठमाडौं सिहंदरवारअगाडि तथा देशविदेशमा भव्यताका साथ पृथ्वी जयन्ती मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण शिव सैनिक र राष्ट्रप्रेमी, धर्मप्रेमीलाई सो अवसरमा उपस्थित भईदिन हुन शिव सेना संयोजक बस्नेतले सार्वजनिक अनुरोध गर्नु भएको छ ।