२०८२ असार ३१ गते, मंगलवार ०२:५३

मन्त्रीको निर्देशन मान्न नसकिने बाध्यताः पशुपति मन्दिरमा राष्ट्रिय गान बजाउन बन्द

काठमाण्डौ, २४ भदौ ।
पशुपतिनाथ मन्दिर परिसरमा हरेक दिन हुने आरतीको आरम्भमा मंगलवार पनि राष्ट्रगान बजेन ।

आरतीपूर्व सोमबार पनि राष्ट्रगान नबजेको खबर सुनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्र गान नियमित गर्न निर्देशन दिएको बताइएको थियो ।

यस्तो निर्देशन पशुपति क्षेत्र विकास कोषमार्फत श्री पशुपतिनाथ बागमती गंगा आरती सेवा समितिलाई पुगिसकेको थियो ।

तर, समितिले आइन्दा आरतीपूर्व राष्ट्रगान नबजाउने निर्णय गरेको छ ।

समितिका सदस्य डा.रमेश पोखरेलले आफूहरूले राष्ट्रगानको सम्मानका लागि यस्तो निर्णय गरेको बताए ।

“पशुपतिको घाटमा दागबत्ती दिइरहेकालाई राष्ट्रगान बज्न लाग्यो, रोकिनुस् भनेर हुन्छ ? रोइरहेका आफन्तलाई राष्ट्रगान बज्यो नरुनु भनेर हुन्छ ? मलामीलाई टक्क अडिनुस् भन्न मिल्छ ?”, पोखरेलले भने ।

उनले राष्ट्रगानको दुरुपयोग रोक्न सबैको सल्लाहमा यस्तो कदम चालिएको पनि बताए ।

“सनातन धर्मगुरुहरूले पनि आरतीको शुरुआत् राष्ट्रगान होइन, स्वस्तिवाचनबाट हुनुपर्ने सल्लाह दिनुभयो, नसुहाउँदो काम नगर्न भन्नुभयो”, डा.पोखरेलले भने ।

समितिले गत १४ भदौंदेखि आरतीको ठीक पहिले राष्ट्रगान बजाउन शुरु गरेका थियो । पशुपति क्षेत्र विकास कोषले मन्त्रीको आदेश भन्दैं राष्ट्रगान बजाउनुपर्ने यस्तो विरोधाभाषपूर्ण निर्देशन दिएको थियो ।

निर्देशन अनुसार नै राष्ट्रगान बजाउन थालिए पनि अहिलेसम्म विकास कोषबाट राष्ट्रगान बजाउनु भन्ने लिखित निर्देशन नआएको पोखरेल बताउँछन्।

“हामीले लिखित दिनोस् भन्यौं, तर त्यो पनि नआएपछि हामीले यस्तो निर्णय गरेका हौं”, उनले भने, “भोलि लिखितै आयो भने सोचौंला ।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM