२०८३ बैशाख १२ गते, शनिबार ०५:४२

सुन, हिरालगायत पत्थरसहित एक भारतीय पक्राउ

वीरगंज/सुन, हीरालगायत पत्थरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैती छन्।

भारतबाट अवैध रूपमा सुन, हीरालगायत पत्थर ल्याउँदै गरेको सूचनाका आधारमा वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा मैतीलाई पक्राउ गरेको हो।

उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हीराजस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्नाजस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबीजस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबीजस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

बरामद गरिएको सुन, हीरा तथा विभिन्न किसिमका पत्थरको मूल्य २९ लाख ४४ हजार ६ सय ३३ रुपैयाँ भएको तथा पक्राउ परेका मेतीलाई सामानसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM