२०८३ बैशाख ११ गते, शुक्रबार १६:०८

वैशाखमै सुक्न थाले चापाकल, पर्सामा खानेपानी संकट

वीरगञ्ज । पर्सा जिल्लामा वैशाख महिनामै भूमिगत जलस्तर तीव्र रूपमा घट्न थालेपछि खानेपानीको समस्या गम्भीर बन्दै गएको छ। लामो समयदेखि प्रयोगमा रहेका चापाकलहरू सुक्न थालेपछि सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दा दैनिक उपभोगका लागि पानी जुटाउनै संघर्ष गर्न बाध्य भएका छन्।

वीरगञ्ज महानगरपालिका अन्तर्गत रानीघाट, छपकैया, नगवा र मुडली क्षेत्रमा पानी अभावले तीव्र रूप लिएको छ। ती क्षेत्रका अधिकांश चापाकलले काम गर्न छाडेका छन् भने कतिपयमा धमिलो पानी आउने वा हावा मात्रै निस्कने समस्या देखिएको स्थानीयले बताएका छन्। पानीको जोहो गर्न सर्वसाधारणहरू छिमेकीको डिप बोरिङमा भर पर्नु परेको छ भने कतिपय टाढाटाढाका सार्वजनिक धारासम्म धाउन बाध्य भएका छन्।

स्थानीयका अनुसार अघिल्ला वर्षहरूमा जेठ–असारतिर मात्रै देखिने यस्तो समस्या यस वर्ष वैशाखमै देखिन थालेको हो। यसले आगामी दिनमा संकट अझ गहिरिने संकेत गरेको उनीहरूको भनाइ छ।

विज्ञहरूका अनुसार तराई क्षेत्रमा भूमिगत जल पुनर्भरणको मुख्य आधार चुरे र भावर क्षेत्र हुन्। तर चुरे क्षेत्रमा भइरहेको अव्यवस्थित दोहन, वन विनाश, जथाभावी सडक निर्माण तथा ढुङ्गा–गिट्टी–बालुवाको अत्यधिक उत्खननका कारण पानी जमिनमुनि सञ्चित हुने प्रक्रिया कमजोर बन्दै गएको छ। यसैको प्रभावस्वरूप जलस्तर अस्वाभाविक रूपमा तल झरेको बताइन्छ।

यस वर्ष खेतीपाती सुरु हुनुअघि नै चापाकल सुक्न थालेको अवस्थाले जलवायु परिवर्तनको असरसमेत देखिन थालेको सरोकारवालाहरूको भनाइ छ। सामान्यतया सिँचाइको चाप बढ्ने समयमा मात्र देखिने समस्या यसपटक समयअगावै देखिएको हो।

खानेपानी संस्थानको पाइपलाइन पुगेका सीमित घरपरिवारलाई केही राहत भए पनि चापाकलमा निर्भर विपन्न परिवारहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बढ्दो संकटलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सम्बन्धित निकायले दीर्घकालीन समाधानका लागि ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM