२०८३ बैशाख ११ गते, शुक्रबार १८:५०

भ्रामक सूचना नफैलाउन सेनाको अपिल, कानुनी कारबाहीको चेतावनी

काठमाडौं । नेपाली सेना ले पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो नेतृत्वलाई लक्षित गर्दै प्रसारित भइरहेको “तथ्यहीन तथा भ्रामक सामग्री”प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार जारी प्रेस नोटमार्फत सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै त्यसको प्रसारण नगर्न/नगराउन आग्रह गरेको हो।

नेपाली सेना अन्तर्गतको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा केही समूह वा व्यक्तिले कपोलकल्पित सामग्री प्रचार गरेर संस्थागत छविमा असर पार्ने प्रयास गरिरहेको उल्लेख छ। सेनाले यस्ता गतिविधिमाथि सम्बन्धित निकायहरूसँग समन्वय गरी नियमित निगरानी भइरहेको जनाएको छ।

विज्ञप्तिमा यस्ता भ्रामक सूचना फैलाउने व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने चेतावनीसमेत दिइएको छ। सेनाले आम नागरिकलाई आधारहीन समाचार र टिकाटिप्पणीप्रति सचेत रहन आग्रह गर्दै आधिकारिक जानकारीका लागि आफ्ना आधिकारिक माध्यमहरू प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइट मार्फत सार्वजनिक गरिएका सूचनामै विश्वास गर्न अनुरोध गरेको छ।

यस प्रकारको भाषाशैलीलाई लिएर सञ्चार वृत्तमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। कतिपयले राज्यका निकायहरूबाट आउने कडा शब्दावलीले अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् भने अर्कोतर्फ संस्थागत प्रतिष्ठा जोगाउन यस्ता चेतावनी आवश्यक रहेको धारणा पनि सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM