रौतहट प्रहरी गाली प्रकरणमा दुईथरी दाबी, सईलाई जोगाएर हवल्दारलाई फसाउन खोजिएको आरोप

200 Shares

काठमाडौँ । प्रहरी सञ्चारमा फोन गरेर छोराको खोजीका लागि सूचना दिन खोज्दा गालीगलौज र दुर्व्यवहार भएको रौतहट प्रहरी प्रकरणले नयाँ मोड लिएको छ। अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। तर, घटनामा गालीगलौज गर्ने वास्तविक व्यक्ति को हुन् भन्ने विषयमा प्रहरी नेतृत्व र स्रोतबाट परस्पर विरोधी दाबी सार्वजनिक भएका छन्। गालीगलौजमा संलग्न वास्तविक अधिकारीलाई जोगाएर सञ्चारमा ड्युटीमा रहेका प्रहरी हवल्दार बुधन महतोमाथि दोष थोपर्ने प्रयास भइरहेको स्रोतको आरोप छ।

यस प्रकरणमा प्राप्त जानकारीअनुसार घटना भएको दिन जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा प्रहरी हवल्दार बुधन महतोको ड्युटी थियो। तर, फोन उठाउने र संवादका क्रममा अपशब्द प्रयोग गर्ने व्यक्ति ड्युटीमा रहेका हवल्दार नभई त्यहीँ उपस्थित प्रहरी नायब निरीक्षक (सई) रहेको स्रोतको दाबी छ। स्रोतले ती सई थापा थरका रहेको बताए पनि यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन।

छोराको खोजीका लागि प्रहरी सञ्चारमा फोन गरेका प्रहरी हवल्दार सुरेश यादवसँग फोन गर्नुको कारणसमेत नसोधी हप्कीदप्की र अपशब्द प्रयोग गरिएको अडियोमा सुनिन्छ। सार्वजनिक अडियोमा सुनिएको आवाज कसको हो भन्ने विषयमा भने अहिलेसम्म आधिकारिक पहिचान सार्वजनिक गरिएको छैन। यही विषय अहिले प्रकरणको सबैभन्दा पेचिलो पक्ष बनेको छ।

घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको नेतृत्वले गालीगलौजमा संलग्न भनिएका सईलाई जोगाउन खोजेको र उनलाई बिदामा घर पठाइएको स्रोतको दाबी छ। अर्कोतर्फ, घटनाका बेला सञ्चारमा ड्युटीमा रहेका हवल्दार महतोलाई नै कारबाहीको भागीदार बनाउने प्रयास भइरहेको आरोप पनि लागेको छ। यदि यो दाबी सत्य हो भने वास्तविक दोषीलाई संरक्षण गर्दै तल्लो दर्जाका कर्मचारीलाई बलीको बोको बनाउने गम्भीर प्रवृत्ति प्रहरी संगठनभित्र देखिएको मान्नुपर्ने हुन्छ।

यसअघि घटनाबारे समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले मंसिर ५ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। विज्ञप्तिमा मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको अडियो संवादमा सुनिएको भाषा, शब्द र शैलीबारे छानबिन गर्न समिति गठन गरिएको उल्लेख छ। दोषी देखिए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तर, प्रदेश प्रहरीको विज्ञप्तिमा अडियो संवादमा अपशब्द प्रयोग गर्ने प्रहरी कर्मचारीको नाम र पद खुलाइएको छैन। छानबिन समिति गठन गरिएको जानकारी दिए पनि घटनामा संलग्न भनिएका कर्मचारीको पहिचान र उनीहरूको भूमिकाबारे स्पष्ट पारिएको छैन। यसले छानबिन प्रक्रियाको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।

अर्कोतर्फ, छोराको खोजीका लागि प्रहरी सञ्चारमा फोन गरेका हवल्दार सुरेश यादवलाई घटना सार्वजनिक गरेको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयदेखि प्रदेश प्रहरी कार्यालयसम्मबाट मानसिक दबाब दिइएको स्रोतको दाबी छ। प्रहरी कर्मचारीले आफ्नो पारिवारिक समस्या वा कुनै संवेदनशील घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउनु अपराध हो कि संगठनभित्रको जिम्मेवारी पूरा गर्नु हो? सूचना सार्वजनिक भएको विषयमा दबाब दिन खोज्नुको सट्टा अडियोमा सुनिएको दुर्व्यवहारको निष्पक्ष छानबिन गर्नु प्रहरी नेतृत्वको प्राथमिकता हुनुपर्ने होइन र?

यो प्रकरणमा सबैभन्दा महत्वपूर्ण प्रश्न अडियोको फरेन्सिक परीक्षणसँग जोडिएको छ। सार्वजनिक अडियोमा सुनिएको आवाज, घटनाका बेला सञ्चार शाखामा उपस्थित कर्मचारीको विवरण, ड्युटी रोस्टर, फोन अभिलेख तथा सम्बन्धित प्रहरी कर्मचारीको बयानलाई एकसाथ परीक्षण गर्ने हो भने वास्तविकता बाहिर आउन सक्छ। अडियोको वैज्ञानिक परीक्षणबाट गालीगलौज गर्ने व्यक्तिको पहिचान गर्न सकिने अवस्थामा पद र पहुँचका आधारमा निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन।

के सञ्चारमा ड्युटीमा रहेका हवल्दार बुधन महतोले नै फोन उठाएका थिए वा त्यहाँ उपस्थित सईले फोन उठाएका थिए? अडियोमा सुनिएको आवाज कसको हो? यदि गालीगलौज गर्ने व्यक्ति सई हुन् भने उनलाई जोगाउन हवल्दारमाथि दोष थोपर्ने प्रयास किन भइरहेको छ? जिल्ला प्रहरी कार्यालयको नेतृत्वले घटनाबारे प्रदेश प्रहरीलाई वास्तविक विवरण दिएको छ कि छैन? अनि छानबिन समितिले अडियोको फरेन्सिक परीक्षणसहित निष्पक्ष अनुसन्धान गर्ने साहस देखाउँछ कि देखाउँदैन?

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीसँग बुझ्दा उनले घटनाका बेला सञ्चार शाखामा कुनै प्रहरी नायब निरीक्षक (सई) ड्युटीमा नरहेको दाबी गरे। उनका अनुसार गालीगलौज गर्ने व्यक्ति प्रहरी हवल्दार बुधन महतो नै हुन्। उनले भने, ‘हामीसँग आधिकारिक जानकारी नै नलिई धेरै ठाउँमा अनेक नाम जोडेर समाचार आएको छ। तर, वास्तवमा गालीगलौज गर्ने व्यक्ति ड्युटीमा रहेका प्रहरी हवल्दार बुधन महतो नै थिए। उनले नै आफूलाई सई हुँ भनेर ढाँटेका हुन्।’

त्यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले पनि घटनाको समयमा प्रहरी हवल्दार बुधन महतो नै सञ्चारमा रहेको र त्यहाँ कुनै सई उपस्थित नरहेको दाबी गरे। उनले यस विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरिसकेको भन्दै विस्तृत जानकारीका लागि प्रदेश प्रहरी कार्यालयमै बुझ्नुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालयका दुवै जिम्मेवार अधिकारीले गालीगलौज गर्ने व्यक्ति हवल्दार महतो नै भएको दाबी गरिरहँदा अर्कोतर्फ स्रोतले भने सञ्चारमा उपस्थित सईले फोन उठाएर गालीगलौज गरेको दाबी गरेको छ। यसरी एउटै घटनामा प्रहरी नेतृत्व र स्रोतबाट आएका दुईथरी दाबीले प्रकरणलाई थप रहस्यमय बनाएको छ।

प्रहरी संगठनमा दर्जाअनुसार जिम्मेवारी फरक हुन सक्छ, तर अनुशासन र कानुनी जवाफदेहितामा माथिल्लो दर्जाका अधिकारीलाई छुट र तल्लो दर्जाका कर्मचारीलाई सजाय दिने व्यवस्था हुन सक्दैन। गल्ती जसले गरेको हो, जवाफदेही पनि उही हुनुपर्छ। पद, पहुँच र संगठनभित्रको प्रभावका आधारमा दोषीलाई संरक्षण गर्ने र कमजोर कर्मचारीलाई दोष थोपर्ने प्रवृत्तिले प्रहरी संगठनको व्यावसायिकता र विश्वसनीयतामाथि नै प्रश्न उठाउँछ।

त्यसैले मधेश प्रदेश प्रहरी कार्यालयले गठन गरेको छानबिन समितिले यो प्रकरणलाई औपचारिकतामा सीमित नराखी सार्वजनिक अडियोको निष्पक्ष फरेन्सिक परीक्षण, ड्युटी विवरणको प्रमाणीकरण र घटनाका बेला उपस्थित प्रहरी कर्मचारीको बयानका आधारमा सत्यतथ्य सार्वजनिक गर्न आवश्यक छ। प्रहरी नेतृत्वको दाबी सही हो वा स्रोतले उठाएको आशंका, त्यसको निरूपण प्रमाणबाट हुनुपर्छ, पद र पहुँचबाट होइन। वास्तविक दोषीलाई उन्मुक्ति र निर्दोषलाई कारबाही हुने अवस्था आए त्यसको जवाफदेहिता कसले लिने भन्ने प्रश्नको जवाफ पनि प्रहरी नेतृत्वले दिनुपर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM