काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर सरकारी शिक्षक पदमा कार्यरत रहेको आरोपमा बाराका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सुवर्ण गाउँपालिका–६, मझरियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्ने क्रममा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। उक्त प्रमाणपत्रका आधारमा अभिलेखमा शैक्षिक योग्यता कायम गरी उनी प्राथमिक तहको शिक्षक पदमा कार्यरत रहँदै आएका थिए।
नक्कली प्रमाणपत्रकै आधारमा राष्ट्रसेवकको हैसियतमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ।
आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।














