समाचार सार्वजनिक भएपछि प्रहरी सई सिंह प्रदेश प्रहरी कार्यालय तानिए, छानबिन समिति गठन

200 Shares

जनकपुरधाम । प्रहरी सञ्चारमा फोन गरेर छोराको खोजीका लागि सूचना दिन खोज्दा प्रहरी हवल्दारमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक (सई) रवीशंकर सिंह प्रदेश प्रहरी कार्यालय तानिएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी सई सिंह र सोही जिल्लाको डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको अडियो संवाद सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको हो।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले मंसिर ५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको अडियो संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।

कार्यालयले उक्त घटनामा जोडिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न छानबिन समितिसमेत गठन गरेको जनाएको छ। छानबिनबाट दोषी देखिए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ।

यसअघि उक्त अडियो संवाद सार्वजनिक भएपछि प्रहरी संगठनभित्रको व्यवहार, अनुशासन र नागरिकसँग गरिने व्यवहारलाई लिएर प्रश्न उठेको थियो। विशेषगरी हराएको छोराको खोजीका लागि सूचना दिन खोज्दा प्रहरी सञ्चारमा जिम्मेवार अधिकारीबाटै अपशब्द र धम्कीपूर्ण भाषा प्रयोग भएको आरोपले घटनालाई थप संवेदनशील बनाएको थियो।

प्रहरीको सञ्चार शाखा नागरिक तथा प्रहरी कर्मचारीले सूचना आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम हो। त्यहाँ कार्यरत अधिकारीबाटै यस्तो व्यवहार भएको आरोप सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गर्नुले घटनालाई संस्थागत रूपमा लिएको देखिएको छ।

तर, प्रश्न यतिमै सकिँदैन। प्रहरीको पोसाक र पदको जिम्मेवारी बोकेका अधिकारीले फोन गर्ने व्यक्तिसँग कस्तो भाषा र व्यवहार गर्नुपर्छ भन्ने सामान्य मर्यादासमेत पालना नगरेको आरोप लाग्नु प्रहरी संगठनकै अनुशासनमाथि प्रश्न हो। अब छानबिन समितिले घटनाको निष्पक्ष छानबिन गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्छ कि गर्दैन र दोषी देखिए कस्तो कारबाही हुन्छ भन्ने चासो बढेको छ।

प्रहरी संगठनको प्रतिष्ठा पद र पोसाकले मात्रै होइन, नागरिकसँग गरिने व्यवहारले पनि निर्धारण गर्छ।

FB IMG 1795241411897

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM