२०८३ बैशाख २५ गते, शुक्रबार १४:१०

“सत्ता गठबन्धन जुनसुकै वेला टुट्न सक्ने अवस्थामा”

काठमाडौँ/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्ष लिन्छ भन्ने टुंगो लाग्नेसमेत बताए।

आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए। त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि बताए।

‘कुन दिन गठबन्धन भत्किने हो ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ चिन्ता सुरु भइसकेको छ। त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्ष लिने हो राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ,’ उनले भने, ‘अब सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हाबी हुने हो कि सन्तुलनको राजनीति अपनाएर जाने भन्ने मान्यता हाबी हुने भन्ने कुरा हप्ता दिन भित्र टुंगो लागि सक्छ।’

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM