काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । गगनले नजिते पनि ३५ भन्दा बढी मत ल्याउने अपेक्षा गरिएको थियो । तर उनले २५ मतमात्रै पाएका छन् ।
संसदीय दलको निर्वाचनमा कांग्रेसमा पुस्तान्तरणको नारा अस्वीकृत भएको छ ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।
उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे ।
बन्द कोठामा गरिने आलोपालो प्रधानमन्त्रीको सहमति मान्य हुन्न-गगन थापा
कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएपछि कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीका नाममा बन्द कोठामा गरिने सहमति मान्य नहुने बताएका छन् । त्यसका लागि पार्टीमा पारदर्शी छलफल हुनुपर्ने उनले बताए ।
आज भएको संसदीय दलको निर्वाचनपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले बन्द कोठामा गरिने निर्णय व्यक्तिको हुने र पार्टीले त्यसलाई नबोक्ने दाबी गरेका हुन्।
बुधवार बिहान भएको निर्वाचनमा ६४ मत प्राप्त गरेर सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चुनिएका छन् । गगनले जम्मा २५ मत मात्र प्राप्त गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता साझेदारी समझदारी गरेको चर्चाबीच गगनले बन्द कोठामा सहमति गरे मान्य नहुने बताएका हुन् ।
‘सरकारको आलोपालो र राष्ट्रपतिबारे पारदर्शी निर्णय भएन भने त्यो व्यक्तिगत रूपमा दर्ज हुनेछन् । आलोपालो गर्ने समझदारी पार्टीसँग संस्थागत छलफल भएमा बोक्छौं । यसअघि बन्द कोठामा गरेजस्तै भयो भने, कांग्रेसले बोक्दैन । भोलि धोका दियो भन्न मिल्दैन,’ थापाले भने ।