२०८३ बैशाख २५ गते, शुक्रबार १९:५९

राप्रपाका उम्मेदवार द्वैध नागरिक साहको जमानत जफ्त

वीरगंज/राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका द्वैध नागरिक नरेश साहको जमानत जफ्त भएको छ।

भारत र नेपाल दुबै देशको नागरिकता राखेर दुबै देशमा तस्करी लगायतका दुई नम्बरी कार्यबाट अर्जित रकम संरक्षण गर्दै आएका द्वैध नागरिक नरेश साह पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए।

अन्तिम मत परिणाममा परिणाममा तेस्रो स्थानमा रहेका नरेश साहले दुई हजार सात सय ४१ मत प्राप्त गरे ।

नेपाली कांग्रेस पार्टीका अजय कुमार चौरसिया २८ हजार चार सय ५१मतसहित विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले २२हजार चार सय ४५ मत प्राप्त गरे।

पर्सा-२ बाट प्रतिनिधिसभा सदस्य पदमा ११ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार हरेक उम्मेदवारले जमानत जोगाउनका लागि कुल खसेको मतमा सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७० मा उम्मेदवारीले राख्नुपर्ने धरौटीबारे उल्लेख गरिएको छ ।

‘उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूचि पेस गर्ने दलले पचास हजार रुपैयाँ आयोग समक्ष धरौटी राख्नुपर्नेछ,’ उक्त दफामा भनिएको छ ।

पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता ८६ हजार ९६६ रहेकामा ५९ हजार १ सय ८८ मत खसेको थियो । जसमा५५हजार पाँच सय एक मत सदर भएको थियो।सदर मत मध्ये भारतीय नागरिक समेत रहेका नरेशले धरौटी जोगाउन झण्डै पाँच हजार पाँच सय मत प्राप्त गर्नुपर्ने थियो । तर उनले दुई हजार सात सय ४१ मत मात्र प्राप्त गरे।

भारत बिहार राज्य सितामढी जिल्ला बेल निवासी नरेश साहले २०६३ सालको नागरिकता टोलीमा झुठो विवरण पेस गरी सर्लाही जिल्लाबाट नेपाली नागरिकता लिएका थिए पछि उनले बसाई सराई गरि वीरगंज आए। झूठो विवरण पेश गरि नागरिकता लिएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृहमन्त्रालयमा सिफारिस गरिसकेको अवस्थामा राप्रपाले निजलाई उम्मेदवार बनाए पनि आम मतदाताले जमानत जफ्त हुने गरि बहिष्कार गरिदिका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM