Wednesday, November 27, 2024
घरक्राइम चेकप्रहरीको संरक्षणमा पर्सामा जुवाखाल संचालन

प्रहरीको संरक्षणमा पर्सामा जुवाखाल संचालन

वीरगंज/ चाडपर्वको महिना र आगामी मंसिरमा हुने प्रदेश प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन गृह मंत्रालय, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी नायब महानिरीक्षक मसाउद आलम खान समेतले दिएको निर्देशन विपरीत पर्सा जिल्लाको शान्ति सुरक्षा अवस्थालाई चुनौती दिंदै दैनिक करोड रकमको जितहार हुने गरि जुवा खाल संचालन भइरहेको समाचार जानकारीमा आएको छ।

विश्वस्त सूत्रले दिएको जानकारी अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर १मा प्रहरीकै संरक्षणमा जुवाको खाल सन्चालन भएको पाइएको छ । बहुदरमाइ नगरपालिका वडा नम्बर १ बिश्रामपुर टोल र भौराटारमा जुवाको खाल सन्चालन भैरहेको स्रोतले जनाएको छ।

ती स्थानमा लामो समयदेखि जुवा खाल संचालन भैरहेको खबर पर्सा प्रहरीलाई भए पनि मौनता साधेर बस्नुको कारण जुवा खाल संचालकले जुवाको खाल संचालनमा संरक्षणका निम्ति स्थानीय प्रहरी चौकी लगायत जिल्ला प्रहरी कार्यालयसम्म रकम जाने गरेको बताइन्छ।

प्रहरी प्रशासनलाई मासिक १५ लाख रूपैयाँ बुझाए पश्चात् निर्धक्क रूपले जुवा खेलाउँदै गरेकोले आफुहरू सुरक्षित भएर जुवा खेल्न आउने गरेको भारतीय जुवाड़ेहरू बताउँछन्।

स्थानीय प्रहरी चौकी बहुअर्वाभाठा, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साको लागि मासिक १५ लाखसम्म छुट्याएर लाईन लिएपछि मात्र जुवा संचालन संभव भएको बताइन्छ । ती दुबै जुवाको खालमा दैनिक करोडौ बराबरको कौडा हुने गरेको जुवाड़ेले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोली, तथा बिचौलियाले प्रदेश प्रहरी प्रमुख सम्मको नाममा रकम असुली गरेर जुवा खाल संचालनको सेटिंग मिलाएको बताइन्छ। बिचौलियाले नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक धिरज प्रताप सिँहसँग आफ्नो आफ्नो नजिकको सम्बन्ध रहेकोले ढुक्कका साथ जुवा खाल देखि हुण्डी कारोबारको लाइन मिलाएको बताइन्छ।

शान्ति सुरक्षा स्थापना र सामाजिक कुरीति बिकृति निरुत्साहित गर्न सक्रिय हुनु पर्ने प्रहरी प्रशासन आफ्नो व्यवसायिक धर्मभन्दा बिपरीत जान थालेपछि पर्साको सुरक्षामा चुनौती थपिएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीसँग बुझ्दा उनले जुवा खाल संचालन भैरहेको संबन्धमा आफुलाई कुनै सूचना वा जानकारी नरहेको भन्दै अनभिज्ञता प्रकट गर्दै त्यस्तो रहेछ भने आफुले पत्ता लगाएर कारवाही गरिने बताउनु भयो।

पर्सा प्रहरी अन्तर्गतको क्राइम टोलीका प्रतिनिधि, टाइगर टोली, सिभीलमा खटिएका घुमुवाहरू व्यापारीक फर्म, प्रतिष्ठान, ट्रांसपोर्ट, पोके तस्करतिर केंद्रित भएको देखिँदै गर्दा पर्सा प्रहरीको कमाण्डले अन्य अवैध गतिविधि, हुण्डी कारोबार फस्टाउँदै जानु र शान्ति सुव्यवस्था, तथा देशको आर्थिक अवस्था सुदृढीकरण खतरामा पर्नु सामान्य हो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -