२०८३ बैशाख ३१ गते, बिहीबार १३:५०

रास्वपा सांसदको अमर्यादित अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता गणेश पराजुलीले संसद्‌मा प्रयोग गरेको केही शब्दहरू संसदीय अभिलेख (रेकर्ड) बाट हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

गत वैशाख २९ गतेको बैठकमा बोल्ने क्रममा सांसद पराजुलीले प्रयोग गर्नुभएका ‘भरौटे’ तथा ‘लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी’ भन्ने वाक्यांशहरू अमर्यादित र असंसदीय भएको भन्दै सभामुखले यस्तो निर्णय लिएका हुन्।

बिहीबारको बैठकमा सभामुख अर्यालले भने, “वैशाख २९ गते बसेको बैठकमा माननीय सांसद गणेश पराजुलीले सम्बोधनको क्रममा प्रयोग गर्नुभएको ‘भरौटे’ र ‘लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो’ भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिन्छु।”

संसद्‌मा विपक्षी दलहरूले ती शब्दहरू प्रति आपत्ति जनाउँदै हटाउन माग गरेपछि सभामुखले संसदीय मर्यादा कायम राख्न ती शब्दहरू हटाउन लगाएका हुन्। सभामुख अर्यालले अन्य सांसदहरूलाई पनि बोल्ने क्रममा संयमित हुन र संसदीय गरिमा सुहाउँदो शब्दहरू मात्र प्रयोग गर्न सचेत गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM