२०८३ असार २३ गते, मंगलवार १२:०८

काँग्रेसभित्र समानुपातिकतर्फ बन्दसूची विवाद चुलियो, कोइराला पक्षलाई कसैले टेरेन

काठमाडौँ / नेपाली कांग्रेसभित्र आउँदो चुनावका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको उम्मेदवारको सूचीलाई लिएर जारी विवादले नयाँ रुप लिएको छ।

नेता शेखर कोइराला पक्षले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षका नेता नगन्य मात्रामा मात्रै राखिएको र परेका नामको वरीयता क्रम पनि तल पारिएको भन्दै आन्दोलन गर्दै आएको छ।

समस्या समाधानका लागि संस्थापन पक्ष र नेता कोइराला पक्षबीच छलफल हुँदै आएको छ। सोही क्रममा बिहीबार बेलुका भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरुको नाम बन्द सूचीबाट हटाउने प्रस्ताव गरेका थिए। त्यसमा कोइराला पक्ष सकारात्मक देखिएको थियो।

तर, देउवाले आफू पक्षका मनोनीत केन्द्रीय सदस्यको नाम समानुपातिकको बन्दसूचीबाट नहटाउने, कोइराला पक्षकालाई भने सो नियम लागू गर्ने संकेत गरेका छन् । एक नेताका अनुसार त्यस विषयमा छलफल भएको छ।

शेखर समूहले भने नियम दुवै पक्षलाई समान रुपमा लागू गर्नुपर्ने माग गरेको छ। शेखर समूहले प्रत्यक्ष तथा समानुपातिकमा आफ्ना नेतालाई अवसर नदिएको भन्दै विरोध गर्दै आएको हो।

देउवाको नयाँ प्रस्ताव र त्यसको कार्यान्वयन एकपक्षीय रुपमा गर्दा आफ्ना तर्फबाट सूचीमा परेकाहरुको मात्रै नाम काटिने देखेपछि कोइराला पक्ष सशंकित र थप विरोधमा उत्रिएको हो।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको बन्दसूची सच्याउन असोज १६ गतेसम्मको समय दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM