वीरगंज/ नेपाल सरकारले सुपारी लगायतको आयात खुल्ला गरेको हप्ता दिन बित्न नपाउँदै तस्करहरूले पर्साको ग्रामीण भेग प्रयोग गरि भारत तर्फ सुपारी तस्करी गर्ने काममा भारतीय सीमा सुरक्षा बलले “पहिलो गाँसमै डुंगा” पारिदिएका छन्।
प्राप्त जानकारी अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको तर्फबाट सांगठनिक रुपमै तस्करीको लाइन खुल्ला गरिए पछि हालै खुल्ला गरिएको सुपारी आयातको पनि फाईदा लिन तस्करहरू भारतबाट खाद्यान्न, हार्डवेयर र कपड़ाहरू नेपाल ल्याउन थालेका छन् भने नेपालबाट सुपारीको तस्करी समेत सुरु भएको छ।
यसैबीच पर्साको सीमावर्ती क्षेत्र जानकी टोलाको दसौताबाट सुपारीको तस्करी सांगठनिक रुपमै खुल्ला गरिएको बारे एक घटनाले समेत प्रमाणित गरेको छ ।
शान्ति सुरक्षाका साथ साथै सीमा सुरक्षा लगायत गतिविधिमा निगरानी बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । तर आफ्नो संगठनको नीति निर्देशनलाई लत्याउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सुपारी तस्करीको लाइन नै खुल्ला गरिएको बारे एक घटनाले प्रमाणित गरेको हो ।
शनिवार बिहान करिब १ बजेको समयमा पर्साको जानकीटोला नाका हुँदै सुपारी बोकेको दुई वटा ट्राक्टर र युनिलिबरका सामग्री बोकेको एउटा पिकअप भ्यान भारततर्फ गएको थियो । भारत बिहारको खमिया इनर्वा नपुग्दै भारतको सीमा सुरक्षामा तैनाथ भारतीय एसएसबीले ती गाड़ी नियंत्रणमा लिए। भारतीय एसएसबीले अवैध तरिकाले निर्यात भएको सुपारी सहितको ट्रयाक्टर नियन्त्रणमा लिनासाथ तस्कर बीच भिडन्त समेत भएको बताइन्छ ।
तस्कर र भारतीय एसएसवी बिच भएको झडपमा तिन जना भारतीय एसएसबी घाइते भएका छन् भने एसएसबीले चलाएको गोली लागि एक जना तस्कर समुहतर्फका व्यक्ति घाइते भएको, स्थानीय बताउँछन् ।
सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा फस्टाउँदै गएको सुपारी तस्करी धन्दाको बिषयमा जगजाहेर भएपनि माथिल्लो निकायले मौन धारण नै गरेको पाइन्छ ।
बोर्डर आउट पोष्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजय गोईत र प्रहरी चौकी जानकिटोलाका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेको मिलोमतोमा तस्करी धन्दा मौलाउँदै गएको प्रमाणित हुँदा हुँदै माथिल्लो निकाय मुकदर्शक बन्न पुग्दा, आर्थिक प्रलोभनको चपेटामा माथिल्लो निकाय समेत रहने गरेको तथ्य उजागर भएको छ ।