२०८३ बैशाख २६ गते, शनिबार ०७:५०

केपी ओली र रवीन्द्र मिश्रबीच राजसंस्थाको आवश्यकताबारे छलफल

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ।

आइतबार साँझ दुई नेताबीच भएको भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो, हस्तक्षेप राजसंस्थाको आवश्यकता र असान्दर्भितालगायतका विषयमा छलफल भएको विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिएका छन्।

ओलीलाई भेट्न मिश्र आइतबार ६ बजे ओली निवास बालबोट पुगेका थिए। उनीहरुबीच अढाइ घण्टा छलफल भएको थियो।

‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’ भेटबारे जानकारी दिँदै मिश्रले लेखेका छन्।

सो क्रममा ओलीले चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलताका विषयमा पनि मिश्रलाई सुनाएका थिए। सो भेटमा ओलीले मिश्रलाई ‘ तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’ भनेका थिए।

भेटको अन्त्यमा ओलीले नेपालको चुच्चे नक्सा अंकित एक र दुई रुपैयाँका एक मुठी सिक्का उपहार दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM