काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका चार प्रहरी अधिकारीको नाम सरकारले काटेको छ । संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका नेपाल प्रहरीका दुई अधिकृत र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम सरकारले काटेको हो ।
सरकारी खर्चको मितव्ययिता भन्दै चार प्रहरी अधिकृतको नाम काटिएको छ । दुई अधिकृतको नाम काटिएसँगै अब नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल मात्रै अमेरिका जाने भएका छन् । नाम काटिनेमा दुबै आईजीपीका स्टाफ अफिसर र यूएन शाखाका प्रमुख रहेको स्रोतले बतायो । यसअघि युएनको यस्तो कार्यक्रममा जाँदा आईजीपीका स्टाफ अफिसर र युएन शाखाका प्रमुख जाने चलन थियो ।
भीआईपीस्तरको कार्यक्रम हुने र आईजीपी समेत त्यहाँ सहभागी हुने हुँदा स्टाफ अफिसर चाहिने जानकारहरु बताउँछन् । ‘युएनको कार्यक्रममा जाने भएपछि त्यहाँ आईजीपीलाई आवश्यक पर्ने सहयोगका लागि स्टाफ अफिसर अनिवार्य जस्तै हो । अन्य देशका प्रहरी प्रमुखहरु पनि आफ्ना स्टाफ अफिसर लिएरै आउने चलन हुन्छ’ एक पूर्वआईजीपी भन्छन् ।संयुक्त राष्ट्र संघका सदस्यहरु भएका देशका प्रहरी प्रमुखहरु सहभागी हुने यो कार्यक्रममा पिस किपिङका बारेमा छलफल हुन्छ । त्यहाँ आफ्नो योजनाहरु प्रस्तुत गर्ने र त्यसलाई शान्ति स्थापनाका लागि लागु गरिन्छ । यो कार्यक्रम अमेरिकामा जुलाई ५ देखि ७ सम्म तीन दिन चल्ने बताइन्छ ।















