२०८३ असार १९ गते, शुक्रबार २३:०८

डेढ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

काठमाडौं । अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरी डेढ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको आरोपमा काठमाडौं प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर उनीहरूबाट उठाइएको रकमलाई यूएसडीटी (USDT) मा रूपान्तरण गरी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा असार १८ गते काठमाडौं महानगरपालिका–११, मैतीदेवीबाट भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ घर भएका २८ वर्षीय मुकेश प्रजापति पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेका प्रजापतिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

अनुसन्धानका क्रममा हालसम्म प्रजापतिले रु. १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। साथै, विभिन्न खातामा USDT 7,485.23 (नेपाली रुपैयाँ करिब रु. ११ लाख ४१ हजार ९ सय ८३ रुपैयाँ ७६ पैसा) मौज्दात रहेको पनि अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ।

नेपालमा राष्ट्र बैंकको स्वीकृतिबिना क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ। पक्राउ परेका व्यक्तिमाथि प्रचलित कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM