२०८३ असार १४ गते, आईतवार १०:०८

ग्रेस फर्मास्युटिकल्सद्वारा उत्पादित औषधि गुणस्तरहीन, बिक्री-वितरणमा प्रतिबन्ध

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ग्रेस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको LINARACE M 850 Tablets को एक ब्याच गुणस्तर परीक्षणमा मापदण्डअनुसार नभेटिएपछि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।

विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा निर्धारित विश्लेषणात्मक मापदण्ड (Analytical Profile) अनुरूप नरहेको पुष्टि भएको हो। परीक्षणमा औषधिको Assay Test तोकिएको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचको बिक्री–वितरण तथा प्रयोग नगर्न विभागले आग्रह गरेको छ।

रिकलको दायरामा परेको औषधि LINARACE M 850 Tablets (Linagliptin 2.5 mg + Metformin Hydrochloride 850 mg) हो। विभागका अनुसार यस औषधिको Batch No. TLMS-006, उत्पादन मिति नोभेम्बर २०२४ र म्याद समाप्ति मिति अक्टोबर २०२६ रहेको ब्याच मात्र प्रभावित भएको हो।

उक्त औषधि रूपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको विभागले जनाएको छ। औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित उद्योगलाई सो ब्याच बजारबाट तत्काल फिर्ता गर्न तथा त्यससम्बन्धी विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ।

विभागले चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उक्त ब्याच नम्बरको औषधि बिक्री, वितरण वा प्रयोग नगर्न आग्रह गरेको छ। यदि कसैले TLMS-006 ब्याच नम्बरको LINARACE M 850 Tablets प्रयोग गरिरहेको भए तत्काल ब्याच नम्बर जाँच गरी प्रयोग बन्द गर्न र आवश्यक परे नजिकको स्वास्थ्य संस्था, चिकित्सक वा औषधि व्यवस्था विभागसँग सम्पर्क गर्न पनि विभागले अनुरोध गरेको छ।

औषधि व्यवस्था विभागले बजारमा उपलब्ध औषधिको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र परीक्षणलाई निरन्तरता दिँदै आएको जनाएको छ। विभागका अनुसार गुणस्तर मापदण्ड पूरा नगर्ने औषधिमाथि आवश्यक कानुनी कारबाहीका साथै बजारबाट फिर्ता गराउने प्रक्रिया निरन्तर अघि बढाइनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM