२०८३ जेष्ठ ३० गते, शनिबार २१:१७

तस्करीको समाचार लेखेकै कारण पर्साका तीन पत्रकारमाथि आक्रमण, महासंघद्वारा दोषीमाथि कारबाहीको माग

वीरगञ्ज । समाचार संकलन गरी घर फर्किरहेका पर्साका तीन जना क्रियाशील पत्रकारमाथि तस्करहरूको समूहले ज्यान लिने नियतसहित आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघका अनुसार वीरगञ्ज महानगरपालिका–१० स्थित सिर्सिया जाने सडकखण्डमा शुक्रबार राति पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल र रुस्तम अलीमाथि १० देखि १२ जनाको समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको हो। नियमित पेशागत जिम्मेवारी पूरा गरी घर फर्किरहेका उनीहरूलाई बाटोमै घेराबन्दी गरी कुटपिट गरिएको बताइएको छ।

पीडित पत्रकारहरूका अनुसार आक्रमणकारीहरूले उनीहरूका मोबाइल फोन, नगद रकम तथा अन्य महत्वपूर्ण सामग्रीसमेत लुटेर लगेका छन्। घटनामा संलग्न समूहले पत्रकारहरूलाई लक्षित गरी आक्रमण गरेको उनीहरूको दाबी छ।

पत्रकारहरूले खुला सीमाको दुरुपयोग गर्दै भइरहेको अनधिकृत तस्करी तथा अवैध पैठारीका गतिविधिबारे समाचार प्रकाशित तथा प्रसारण गर्दै आएका थिए। सोही विषय उजागर गरेको प्रतिशोधस्वरूप आफूहरूमाथि आक्रमण भएको उनीहरूको भनाइ छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनसरोकारका विषयमा समाचार सम्प्रेषण गरिरहेका पत्रकारमाथि भएको यस प्रकारको आक्रमणलाई स्वतन्त्र प्रेस र सम्पूर्ण सञ्चार क्षेत्रमाथिको प्रहारका रूपमा लिएको जनाएको छ।

महासंघका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न पहिचान भएका तथा फरार सबै व्यक्तिलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न र कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।

महासंघले श्रमजीवी पत्रकारहरूको भौतिक सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना पुनः दोहोरिन नदिन राज्यका सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई गम्भीर बन्न आग्रह गरेको छ। सीमावर्ती क्षेत्रमा सक्रिय पत्रकारहरूको सुरक्षासम्बन्धी प्रश्नलाई यस घटनाले पुनः चर्चाको केन्द्रमा ल्याएको महासंघको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM