२०८३ जेष्ठ ३० गते, शनिबार १५:२२

पशुपतिनाथ क्षेत्रको हत्या प्रकरणमा फरार आरोपी महोत्तरीबाट पक्राउ

काठमाडौं/पशुपतिनाथ मन्दिर परिसरभित्र भएको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा फरार एक जनालाई नेपाल प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-८ स्थित पशुपति क्षेत्रको १५ नम्बर शिवालयमा गत फागुन ६ गते संखुवासभा घर भएका सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।

अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका दर्बेनाथ भनिने सुविन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका रानामगरलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दै जाँदा महोत्तरीबाट नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका रानामगरलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। हत्या प्रकरणको कारण, घटनाको पृष्ठभूमि तथा अन्य सम्भावित संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पशुपतिनाथ क्षेत्रजस्तो धार्मिक तथा संवेदनशील स्थानमा भएको उक्त घटनाले सर्वसाधारणको ध्यानाकर्षण गरेको थियो। घटनाको सत्यतथ्य उजागर गर्न प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM