२०८३ जेष्ठ ३० गते, शनिबार २१:४२

घटनाको यथार्थ नबुझी विज्ञप्ति जारी गरिएको दाबी, नेपाल पत्रकार महासंघ पर्सा शाखाभित्रै असन्तुष्टि

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारमाथि आक्रमण भएको भन्दै जारी गरेको विज्ञप्तिप्रति महासंघकै कार्यसमितिभित्र असन्तुष्टि देखिएको छ। घटनाको वास्तविकता नबुझी एकपक्षीय रूपमा विज्ञप्ति सार्वजनिक गरिएको भन्दै केही पदाधिकारी तथा सदस्यहरूले त्यसप्रति आपत्ति जनाएका हुन्।

महासंघले जारी गरेको विज्ञप्तिमा समाचार संकलन गरी फर्किने क्रममा तीन जना पत्रकारमाथि आक्रमण भएको उल्लेख गरिएको थियो। तर महासंघका सहसचिव एसके चौरसियाका अनुसार घटनासम्बन्धी सबै पक्षको तथ्यगत जानकारी नलिई विज्ञप्ति जारी गरिएको भन्दै कार्यसमितिभित्रै प्रश्न उठ्न थालेको छ।

चौरसियाले दिएको जानकारीअनुसार घटनामा संलग्न भनिएका पत्रकारहरू रातको समयमा तस्करीसँग सम्बन्धित गतिविधिको भिडियो खिच्न पुगेका थिए। सो क्रममा किराना सामान बोकेको मोटरसाइकल रोकेर विवाद भएको दाबी गरिएको छ। घटनाको वास्तविक स्वरूपबारे निष्पक्ष छानबिन हुनुपर्ने र त्यसअघि निष्कर्षसहितको विज्ञप्ति जारी गर्नु उपयुक्त नभएको असन्तुष्ट पक्षको भनाइ छ।

उनीहरूले पत्रकारमाथिको आक्रमणको विषय गम्भीर भए पनि घटनाको सम्पूर्ण पृष्ठभूमि नबुझी सार्वजनिक धारणा बनाउन नहुने बताएका छन्। यदि पत्रकारिताको आवरणमा कुनै प्रकारको बार्गेनिङ, दबाब सिर्जना गर्ने वा अन्य अनुचित गतिविधि भएको पुष्टि भए त्यसमा संलग्न व्यक्तिमाथि समेत अनुसन्धान गरी आवश्यक कारबाही हुनुपर्ने माग गरिएको छ।

महासंघको आधिकारिक सामाजिक सञ्जाल समूहमा समेत उक्त विज्ञप्तिलाई लिएर छलफल सुरु भएको स्रोतको दाबी छ। असन्तुष्ट सदस्यहरूले विज्ञप्ति पुनरावलोकन गरी तथ्यमा आधारित आधिकारिक धारणा सार्वजनिक गर्न नेतृत्वसँग आग्रह गरेका छन्।

घटनाको वास्तविक सत्यतथ्य नबुझी विज्ञप्ति जारी गर्दा महासंघको संस्थागत गरिमामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ। उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न सम्बन्धित निकाय तथा महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM