२०८३ जेष्ठ १२ गते, मंगलवार १८:०३

प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्ने माग कानुनसम्मत छ: सभामुख

प्रधानमन्त्री संसदमा आएर जवाफ दिने तयारीमा, प्रतिपक्षको विरोधबीच पर्यटन विधेयक पेश

काठमाडौं । सभामुख ले प्रधानमन्त्री बजेट भाषणपछि प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहेको जानकारी दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै निरन्तर विरोध जनाइरहेका बेला सभामुख अर्यालले सरकार र प्रधानमन्त्री दुवै संसदमा उठेका विषयप्रति जानकार रहेको बताएका हुन्।

सभामुख अर्यालले प्रतिपक्षी सांसदहरूले उठाएको माग संविधान, नियमावली र कानुनसम्मत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सार्वभौम संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका जिज्ञासाको उत्तर दिनुपर्ने विषय स्वाभाविक रहेको बताए। उनले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्तापक्षसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिए।

उनले केही दिनमै बजेट आउने भएकाले सोही सन्दर्भमा प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने विश्वास व्यक्त गरे। सत्तापक्षका प्रमुख सचेतकबाट पनि प्रधानमन्त्री जवाफ दिन तयार रहेको सूचना प्राप्त भएको सभामुखको भनाइ थियो।

सभामुखको उक्त अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लाई पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिइएको थियो।

तर त्यसलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए। विरोध चर्किएपछि सभामुख अर्यालले रोस्ट्रममा पुगिसकेका मन्त्री पौडेललाई केहीबेर रोक्दै सांसदहरूलाई बस्न आग्रह गरेका थिए।

सभामुखले सरकार प्रधानमन्त्रीको उपस्थितिका विषयमा गम्भीर रहेको दोहोर्‍याए पनि प्रतिपक्षी सांसदहरूको विरोध जारी रह्यो। त्यसपछि मन्त्री पौडेललाई पुनः रोस्ट्रमबाट आफ्नो स्थानमा फर्कन भनिएको थियो।

लगातारको अवरोधका बीच सभामुखले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिने तयारी भइरहेको सूचना फेरि दोहोर्‍याएका थिए। त्यसपछि पनि प्रतिपक्षी दलहरूको नाराबाजी नरोकिएपछि सभामुखले विरोधकै बीच पर्यटनमन्त्री पौडेललाई पर्यटन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM