काठमाडौं । पुनम चन्द लाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लब की खेलाडीसमेत रहेकी चन्द लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रशासनले स्पष्टीकरणसहित उपस्थित हुन पत्राचार गरेको हो।
प्रहरी स्रोतका अनुसार प्रहरी जवान पदमा कार्यरत चन्दलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर रहनुको स्पष्ट कारण खुलाउन तथा सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनिएको छ।
प्रहरी कार्यालयले जारी गरेको सूचनाअनुसार चन्द २०८२ साल चैत १५ गतेदेखि गैरहाजिर रहँदै आएकी छन्। लामो समयसम्म कार्यालय सम्पर्कमा नरहेको भन्दै प्रशासनिक प्रक्रिया अनुसार स्पष्टीकरण माग गरिएको जनाइएको छ।
हालै सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा समावेश भए पनि चन्द अन्तिम राष्ट्रिय टोलीमा पर्न सकेकी थिइनन्। राष्ट्रिय टोलीको अन्तिम छनोटबाट बाहिरिएपछि उनी प्रशिक्षण र ड्युटी दुवैबाट टाढा रहेको चर्चा खेल क्षेत्रमा भइरहेको छ।
घरेलु महिला भलिबलमा प्रभावशाली खेलाडीका रूपमा चिनिएकी चन्दको विषयमा प्रहरी प्रशासनले चालेको पछिल्लो कदमले खेलकुद वृत्तमा समेत चासो बढाएको छ।













