२०८३ जेष्ठ १२ गते, मंगलवार १३:२५

सुकुम्बासी वस्ती खाली गराउन सूचना दिन गएको गाडीमा आगजनी

जनकपुरधाम/महोत्तरीमा सुकुम्वासी बस्ती हटाउन सूचना दिन पुगेको डिभिजन वन कार्यालयको गाडी स्थानीयले जलाइदिएका छन् । सोमबार राति बर्दिबास नगरपालिका ३ क्षेत्रमा वन कार्यालयको गाडीमा आगजनी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार डिभिजन वन कार्यालयले सोमबार दिउँसो वन क्षेत्र अतिक्रमण गरेर बनाइएका अव्यवस्थित बस्ती खाली गराउन सूचना दिएको थियो । त्यसको विरोधमा स्थानीयले रातिदेखि विपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका थिए ।

सडक अवरुद्ध खुलाउन प्रहरीसहित वन कार्यालयको टोली पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थानीयले टोलीलाई नियन्त्रणमा लिएर राति करिब २ बजेसम्म आन्दोलन जारी राखेका थिए । सोही क्रममा वन कार्यालयको गाडीमा आगजनी गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनकारीले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । प्रवक्ता भट्टले आफूहरु छलफलका लागि जाँदा झडपको अवस्था सिर्जना भएको भन्दै धेरै प्रयास गर्दा पनि स्थानीयले नमानेपछि राति करिब २ बजेतिर दुई सेल अश्रुग्यास प्रहार गरेर सडक खुलाइएको बताए । उनले अहिले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए ।

डिभिजन वन कार्यालयका अनुसार राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब एक हजार एक सय हेक्टर वन क्षेत्र अतिक्रमण गरेर घरटहरा निर्माण तथा खेतीपाती हुँदै आएको छ । वन कार्यालयले उक्त क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय गणेश बस्नेतका अनुसार मंगलबार बिहानदेखि पनि आन्दोलन जारी छ । प्रदर्शनकारीले काठका मुढा राखेर विपी राजमार्ग पुनः अवरुद्ध गरेका छन् भने धर्ना पनि जारी राखेका छन् ।

सरकारले लामो समयदेखि स्थानीयको माग बेवास्ता गर्दै आएको भन्दै उनीहरूले आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM