वीरगंज । वीरगंजको आदर्शनगर तथा माइस्थान क्षेत्रमा दुई व्यवसायीबीच भएको झडपले केही समय तनावको अवस्था सिर्जना गरेको छ।
मदिरा उत्पादक संघका केन्द्रीय सचिव तथा विश्रामपुर गाउँपालिका–ठूलो इटियाही टोल निवासी अजय प्रजापति र श्रीराम मनी चेन्जरका सञ्चालक रामबाबु सिंहबीच सुरुमा आदर्शनगरस्थित बब्लु टी-स्टल अगाडि विवाद चर्किँदा हात हालाहालको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थानीयका अनुसार, त्यहाँ उपस्थित व्यक्तिहरूले तत्काल दुबै पक्षलाई छुट्याएर अवस्था सामान्य बनाउने प्रयास गरेका थिए। तर केही समयपछि पुनः माइस्थानस्थित गहवामाई मन्दिर अगाडि दुबै पक्षबीच फेरि झडप भएको बताइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, विवादका क्रममा दुबै पक्षबीच गैङ्गस्टर शैलीमा गालीगलौज र हात हालाहाल भएको थियो। घटनाका कारण केही समय माइस्थान क्षेत्र तनावग्रस्त बनेको स्थानीयहरूले बताएका छन्।
हालसम्म झडपको वास्तविक कारण खुल्न नसकेको भए पनि घटनापछि उक्त क्षेत्रमा सर्वसाधारणको भीड लागेको थियो।
रामबाबु सिंह नेपाली कांग्रेसका पूर्व सभासद तथा बारा जिल्ला सभापति लालबाबु सिंहका सहोदर भाइ हुन्।
घटनाबारे प्रहरीको आधिकारिक धारणा आउन बाँकी रहेको छ।















