२०८३ जेष्ठ १० गते, आईतवार २२:००

बालेन सरकारलाई घेराबन्दीमा पार्न दलहरुबीच सहमति

काठमाडौं। प्रतिनिधिसभामा सरकारविरुद्ध जारी विरोध र अवरोधको शृङ्खलालाई विपक्षी दलहरूले अझै निरन्तरता दिने निर्णय गरेका छन्।

संसदमा सरकारलाई दबाब दिने साझा रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र संसदीय मूल्य-मान्यताको लगातार उपेक्षा गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही समयदेखि सदनभित्र निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्।

सरकारले विपक्षीको आवाजलाई सम्बोधन गर्नुको साटो जबरजस्ती दबाएर संसद्को कार्यसूची अगाडि बढाएको भन्दै बैठकमा सहभागी नेताहरूले सरकार पक्षको तीव्र आलोचना गरेका थिए।

यसका साथै बैठकमा विपक्षी सांसदहरूले संसद्को गरिमा कायम राख्नुपर्ने सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुको सट्टा ‘दलीय भूमिका’ देखाएको भन्दै उनको कार्यशैलीप्रति समेत गम्भीर असन्तुष्टि जनाउँदै छलफल गरेका थिए।

सिंहदरबारमा भएको उक्त महत्वपूर्ण बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, नेकपा (एमाले) का सांसद ऐन महर, नेकपाका नेता युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

विपक्षी दलहरूको यो साझा अडान र संसद् अवरोधलाई निरन्तरता दिने निर्णयले आगामी दिनमा व्यवस्थापिका र कार्यपालिकाबीचको टकराव अझै बढ्ने र सदनको गतिरोध तत्काल नसच्चिने संकेत देखाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM